१३ बैशाख २०८१, बिहिबार

सहरिया महिलाका अधिकारको सवाल

प्रकाशित मिति :  8 March, 2020 10:29 am


———– लक्ष्मी ज्ञवाली (आचार्य) ———–

काठमाडौं कर्मथलो भएकी एक जना काकीसासुले दशैंमा घरबाट फर्कदा बाटोमा भन्नु भएको कुरा हरेक वर्षको महिला दिवस र महिला अधिकारका कुरा चल्दा सम्झने गर्छु । उहाँले भन्नु भएको थियो, “हेर नानी हामी महिलाहरुले जति पढे पनि, जागरि गरे पनि महिला भएर गर्नुपर्ने आधारभूत कर्तब्य पालना गर्दैमा वित्छ ।” हाम्राबीच धेरै कुरा भए । एमए पास गरेर कलेज पढाइरहनु भएकी उहाँले विहेपछि पनि पढाउन छाड्नु भएन । तर, जब छोराछोरी जन्मे, उहाँले चाहेर पनि जागरि गर्ने अवस्था रहेन । एक छोरा र एक छोरीका आमा काकीले कम्तिमा एक दशक छोराछोरी हुर्काउन र संस्कार दिनमै विताउनु भयो । अर्थात्, उहाँको एक दशक मात्र गृहेणी भएर वित्यो । आजका दिनमा उहाँ गृहेणी, आमा, श्रीमति र जागिरे जीवन व्यालेन्स गर्नमा व्यस्त हुनुहुन्छ ।

हामी यतिबेला ८ मार्च अर्थात् अन्तराष्ट्रिय नारी दिवस मनाइरहेका छौं । नेपालमा मात्र हैन विश्वभर नै यो दिनलाई नारी महिला जागरुकताको दिवसका रुपमा मनाइने गर्छ । अन्तराष्ट्रिय नारी दिवसकाे बारेमा यहाँ क्लीक गर्नु भयाे भने विस्तृत विवरण हेर्न सक्नुहुन्छ। मँ इतिहासकाे चर्चा गरिन। महिला दिवसका अघिपछि नेपालमा पनि थुप्रै कार्यक्रम हुन्छन् । महिला अधिकारका कुरा हुन्छन् । भाषण भीषण हुन्छन् । प्रतियोगिता हुन्छन् । सबैले महिला अधिकारका मन्त्र जपिरहेको देख्न पाइन्छ । यसो हुनु पनि पर्छ । कम्तिमा वर्षमा केही दिन नारीको पनि अधिकार छ र पुरुष सरह सम्मान गर्नुपर्छ भन्ने सन्देश त दिइन्छ । नारी दिवसको अवसरमा गरिने महिला अधिकारका हरेक चर्चा आफैमा महत्वपूर्ण छन् । तर, जहिले पनि एउटै विषय र प्रसंगमा मात्र चर्चा भयो की भन्ने लाग्छ । महिला हिंसा, पुरुष सरह ज्याला र आर्थिक अधिकारमा भेदभाव, शिक्षामा महिलाको पहुँच, घर बाट बाहिर निस्कन पाउनु पर्ने अधिकार लगाएतका विषय साझा अधिकारका पक्ष हुन् । अब यीसँगै अलिक फरक पक्ष पनि महिला अधिकारका सवाल बनाइनु पर्ने समय अाएकाे छ ।

यो वर्षको अन्तराष्ट्रिय महिला अधिकारको नाराले पनि महिलालाई अधिकार सम्पन्न बनाउन महिला–पुरुष एकअर्का प्रति समान व्यवहार हुनुपर्छ भन्ने विषयलाई समेटेको रहेछ । अन्तराष्ट्रिय नारा आफ्नो ठाउँमा छन् । नेपाल आफ्नै फरक विशेषता भएको मुलुक भएकाले सरकार र सरोकारवालाले यहाँको समस्या पहिचान गरेर आफ्नै महिला अधिकार स्थापित गर्न दीर्घकालीन नीति बनाएर लाग्नु पर्छ । छाउगोठ भत्काउने तर त्यसको विकल्प दिन नसक्ने खालका पटके नीतिले महिलालाई उल्टै हानी पनि पनि गर्न सक्छ । महिला अधिकारका लागि लड्ने नेपाली दिदीबहिनीहरुको योगदान ठूलो छ । धेरैले आफ्नो घर व्यवहार विग्रदा विग्रदै त कतिले आफ्नो घरबार नबसाएरै महिला अधिकारका लागि जीवन व्यतित गर्नु भएको छ । उहाँहरुले उठाउने कुराले निरन्तरता पाउनुपर्छ भन्ने मलाइ लाग्छ । म कुनै अधिकारवादी वा उच्च ओहोदामा पुगेकी महिला हैन । सामान्य घरपरिवारमा, सानो परिवार सुखी परिवारको अभ्यासमा रमाइरहेकी महिला हुँ । र मलाइ लाग्छ की महिला अधिकारका कुरा उठाइँदा समस्या उठाउनुको साथसाथै समाधानका कुरा पनि उत्तिकै उठाइनु पर्छ । हिमाल, पहाड, तराई सबै भेगका महिलाका समस्याको उठानसँगै समाधानका उपाय पनि समान रुपमा खोजिनुपर्छ ।

यसो त महिला अधिकारबारे सबै भन्दा बढी उठाइने सवाल ग्रामीण महिलाको सवाल हो । तर किन हरेक वर्ष उस्तै सवाल उठाउनु परिरहेको छ? के महिलाका समस्या ज्युँका त्युँ छन् त? के समस्या समाधान नै नभर हो त? के हामी परिवर्तनका कुरा उठाइरहेका छैनौं? यी प्रश्नको उत्तर खोज्ने जिम्मेबारी कुनै बेला अधिकारवादीहरुको जस्तो लाग्थ्यो । अनि हामी महिलाहरु अब पनि अधिकारवादी, अधिकारकर्मीले उठाइहाल्छन् भनेर आफ्ना समस्या लुकाएर राख्नु उचित हो त? कदापी हैन । प्रविधिको विकासको उपयाेग लाईभ च्याटमा गफिनु, टिकटकमा फोटो पोस्टिनु, इन्स्टा र फेसबुकका स्टोरीमा सेल्फी पोष्टिनुमा वा स्न्यापच्याट र ह्वाट्सएपमा फनी क्लीप राख्नदेखि लाइक, कमेन्ट गर्नमा मात्र सीमित गर्यौं भने हामी महिलाको पनि गल्ती ठहरिनेछ । कम्तिमा सामाजिक संजालमा आफ्ना र आफ्ना वरपरका दिदी वहिनीहरुका सवालहरुलाई उठाउन सक्यौं भने पनि महिला अधिकारको लागि लाख हुनेछ । यसो भनिरहँदा प्रविधिको पहुँचमा नभएका महिलाको सवाललाई ओझेल पार्न खोजिएको अर्थ लगाइयो भने पनि न्याय हुदैन । ग्रामीण महिलासँगै त्यही गाउँबाट झरेर सहरिया जीवन विताइरहेका महिलाहरुको सवाल उठाउन पनि विर्सनु पनि त भएन नि ।

सहरका महिलाका पनि आफ्नै पीडा छन् । सहर अलिक पढेलेखेका वा धन दौलत भएका वा दुबै भएका महिलाहरुको मिश्रित समाज छ । साझ विहानको छाक टार्न मजदुरी गर्ने महिलादेखि आमाबुवा, ब्वाइफ्रेन्ड वा बुढाको पैसा फुकेर डिस्कोमा टाकिलामा रमाइरहेका महिला पनि सहरीया समाजमा छन् । सबैका आआफ्ना समस्या होलान् । सहरमा सबैभन्दा उठाइनु पर्ने सवाल भनेकोे निम्न वर्गदेखि उच्च वर्ग, कम पढेकादेखि विश्वविद्यालयका पढाइसकेका महिलाहरुको गृहेणी वाला भोगाइ भने समान छ । सुरुमा उठान गरिएको विषय अर्थात् मेरी काकी सासूको भोगाइ नै आम सहरिया महिलाको भोगाइ पनि हो । विहे अगाडी आफ्नो नयाँ घरको निधो नभइसकेको सरफ्राइज अवस्थामा रहेका महिलाले विहेपछिको जीवन गुजारा र जिम्मेबारी निर्वाह प्राथमिकतामा राख्नै पर्छ । यो बाध्यता नै यथार्थता हो । जसलाई विर्सेर गरिने महिला अधिकारको चर्चा कोरा चर्चाको विषय मात्र बन्न सक्छ ।

सहरीया महिला, खासगरि मध्यमवर्गीयलाई घर खर्च चलाउन पनि श्रीमानसँगै जागिर गर्नुपर्ने बाध्यता हुन्छ । जागिरले सहरको महंगो खर्च धान्न सहज पनि हुन्छ । तर, यसबीच चर्चा नगरिएको विषय यो पनि छ की जागिरअघि घर धाने पुग्ने महिलालाई जागिरपछि घर बाहिर जाने वातावरण त बन्यो, चुलो चौकामा मात्र सीमित हुन परेन । बाध्यता यो छ की जागरि गरे पनि नगरे पनि घर, परिवार, चुलो चौका पनि महिलाकै जिम्मेबारी हुन्छ । पैसा कमाएर घर धान्न सहयोगी राख्ने महिला दिदीबहिनीको संख्या पनि ठूलो छ । तर ती दिदी बहिनीलाई अरुले गरिदिएको काममा चित्त कमै बुझ्छ । आखिर आफै खट्न पर्ने अवस्था आउँछ । त्यसमाथि जब सन्तानको हेरचाहको कुरा आँउछ, महिलाले सम्झौता गर्न सक्दिनन् । सन्तानको खानपान, हेरचाह, स्वास्थ, शिक्षा, बोलीचाली, व्यवहार वा समग्रमा संस्कार सिकाउने विषय आमा भन्दा अर्को कसैले गर्नै सक्दैन । आमालाई अरुले गरेको चित्तै बुझ्दैन । र, यही चित्त नबुझाइकाबीच महिलामाथि थप भार थपिइरहेको छ सहरमा ।

हुन त अनुसन्धान भइरहेका होलान्, मेलै पढ्ने अवसर नपाएको पनि हुन सक्छु । तर भएको छैन भने सहरमा कस्ता कस्ता महिला वस्छन् र तिनका समस्या के कस्ता छन् पहिचान गरि समाधानको उपाय पनि खोजिनु पर्छ । सहरीया महिला आफ्ना पीडा लुकाउन पनि खप्पिस छन् । पीडा बाहिर आएको छैन भन्दैमा पीडा नै छैन भन्ने अर्थ लगाइयो भने पनि महिलामाथि अन्याय हुन्छ । महिलासँगै महिलाका जीवनसाथी अर्थात् पुरुषका पीडा र वाध्यता पनि जोडिए आउछन् । न त महिला एक्लैले न त पुरुष एक्लैले परिवार, समाज र देश धान्न सक्छ । महिला र पुरुषको सौहाद्र्ध साथले मात्र महिला अधिकारको सार्थकता रहन्छ । यदी हामी पहिले महिला हेपिएका थिए भनेर अब पुरुष हेपिनु पर्छ भन्ने हो भने हामी अधिकारको कुरा हैन समाज विग्रहका कुरा गरिरहेका हुन्छौं ।

केही परिवर्तन अपेक्षा गरिन्छ भने आफै बाट सुरुवात गर्नु उचित हुन्छ । मँ आफूले कम्तिमा महिला भएकै कारण कुनै पनि भेदभावको महसुस नगरिरहेकाले यो आलेखमा निर्धक्क मनको कुरा लेखें । यति भनिरहँदा यो आलेख लेख्न उत्प्रेरित गर्ने मेरो श्रीमानको मन भित्रको भाव पनि मैले भुल्नु हुँदैन भन्ठान्छु । घरतिरबाट आउने, ‘अनि किरण बुहारी जागिर गर्छिन्?, के जागिर गर्छिन्?’ जस्ता प्रश्न र ससुराली तिरबाट आउने ‘ज्वाइँसाब अब त छोरी स्कुल जान थाली, लक्ष्मीलाई कतै जागिर गर्ने साेंचमा छे की?, की यता (विदेश) तिरको केही योजना भए भन्नु है, हामी सक्दो गर्छौं’ जस्ता सुझावको अमूर्त उत्तर दिएर मुसुक्क मुस्कुराइरहेका श्रीमान्को अनुहार बाट पनि अपरिचित पक्कै छैन । यद्यपी घर, माइती सबैले हाम्रा लागि नै सुझाव दिएका हुन् भन्नेमा हामी दुबै जना स्पष्ट छौं । छोरी जन्मेपछि ‘कम्तिमा तिमी, छोरी र आमाकाे जिम्मेबारी सम्हाल्नसक्छु, आफ्नो आत्मसम्मानमा ठेस पुगेको महसुस नहुने हो भने तिम्रो जिम्मेबारी छोरीलाई राम्रो संस्कार दिनु हो, छोरी छाडेर जागिर नगर’ भन्ने श्रीमानको प्रस्ताव मनैदेखि ठीक मानेर आजको दिनसम्म आइएको छ ।

मँ आफैले आफैलाइ पनि धेरै पटक मूल्यांकन गरेकाे छु । जीवन चक्र हो, हिजो छोरी थिएँ । आज छोरीकी आमा, यसैगरि भोलीको कर्म हुने हो । कर्ममा पुरुषको साथ महिला र महिलाको साथ पुरुषलाई समान रुपमा आवश्यक पर्छ भन्नेमा पनि हाम्रो परिवार स्पष्ट छ । ‘छोरीलाई घरमा घुलमिल हुने वातावरण बनाउन कम्तिमा तीन वर्ष स्कुल नपठाउने’ श्रीमानको अडानमा मँ सहमत भएँ भने घरभित्रको अधिकांस निर्णयमा श्रीमानको सहमति छ । सहमित अघि छलफल घिनभूत रूपमा हुन्छ । कहिलेकाँही त झगडा पनि हुन्छ । जुन स्वभाविक पनि हाे । बाबु अामा नै व्यस्त रहने छाेराछाेरीले राम्राे संस्कार नपाएर कुलतमा गएका उदाहरण पनि प्रसस्त छन्। त्यसैले महिला अधिकारका अवसरमा अाजका महिलाका लागि मात्र नभइ भविष्यका कर्णधारका अधिकारका कुरा पनि गराैं । मँ मेराे परिवारमा त यस्ता बहस प्रसस्त गरिरहेकाे छु । तपाइ पनि गरिरहनु भएकाे छ हाेला । समग्र समाज कता लैजाने भन्ने विषय नै महिलाहरूकाे काँधमा छ । महिलाकाे काँधमा काँध मिलाउने पुरूषहरूकाे भूमिकालाइ पनि कम अाँकेर हैन, साथ लिएर समाज अघि बढाउने जिम्मेबारी पुरा गर्नु छ । यसतर्फ पनि बहस गराैं । मन्थन गराैं । सभ्य समाजकाे निरन्तरता र निर्माणमा जुटाैं । अन्तमा, यति लामो गन्थन पढ्नु भएकोमा धन्यवाद । यसपालीको अन्तराष्ट्रिय महिला दिवसमा सहरीया महिलाका सवाललाई पनि बहसको विषय बनाऔं । महिलासँगै पुरुषको साथ, सहयोग र सहकार्यका कुरा पनि उठाऔं । अधिकारसँगै कर्तव्यको कुरा पनि गरौं ।

महिला अधिकारका लागि लड्ने ज्ञात अज्ञात जनमा नमन ।

(लेखक लुम्बिनीसंचार डटकमकी संवाददाता हुन्)



प्रतिक्रिया दिनुहोस !