२४ बैशाख २०८१, सोमबार

स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो डेङ्गुको निःशुल्क पिसिआर परीक्षण

प्रकाशित मिति :  9 March, 2022 1:35 pm


काठमडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए । सहप्रवक्ता अधिकारीले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरे ।

यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । प्रयोगशालाका प्रवक्ता राजेश गुप्ता विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पिसिआर परीक्षण गर्ने गरेको बताए।

तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् ।

दिउँसो सुत्दा पनि झूल टाँगेर सुत्ने, घरको झ्याल ढोकामा लामाखुट्टे नछिर्ने जाली हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएका लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्न आग्रह गरिएकोे छ । रासस



प्रतिक्रिया दिनुहोस !