२२ बैशाख २०८१, शनिबार

नेप्से परिसूचकमा १०१ अंकको उछाल, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

प्रकाशित मिति :  13 March, 2022 4:17 pm


काठमाडौं । धेरै समयपछि सेयरबजारमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा रौनकता देखिएको छ । नेप्से परिसूचक सँगसँगै कारोबार रकम पनि बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि १६.३७ अंकले बढेर ५०९.९० अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह बढेको छ।

आइतबार कारोबार रकमका आधारमा शिवम सिमेन्टको अग्रस्थानमा रहेको छ । कम्पनीको ३४ करोड ३६ लाख ५० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज ३ वटा कम्पनी एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने अन्य ४ कम्पनीको पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन मेगा म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य २.९३ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको ९० लाख २२ हजार ८ सय ९० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !