प्रधानसम्पादक बुढाथोकी षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पुरस्कृत, प्रोत्साहन पुरस्कार साहलाई
विराटनगर । टक्सार मिडिया ग्रुपका प्रधान सम्पादक गजेन्द्र बुढाथाेकी यस वर्षकाे षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पुरस्कृत भएका छन् ।
६७औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मोरङले बुढाथोकीलाई पुरस्कृत गरेकाे हाे । त्यसैगरी पत्रकारिता प्रोत्साहन पुरस्कार कान्तिपुर दैनिकका सम्वाददाता देवनारायण साहलाई प्रदान गरिएकाे छ।
बुधवार माेरङकाे विराटनगरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय षष्टिका बस्नेतका पिता खड्ग बहादुर बस्नेतले छोरीको स्मृतिमा ७ लाखको अक्षय कोष स्थापना गरी २०७३ मा उक्त पुरस्कार स्थापना गरेका थिए ।
टक्सार मिडिया ग्रुप अन्तर्गत बाेधी सञ्चार प्रा.लि. द्वारा प्रकाशित टक्सार म्यागजिनका प्रधानसम्पादककाे रूपमा कार्यरत बुढाथोकीलाई नेपालस्थित कोकाकोला कम्पनीको शेयर विक्री गर्दा सरकारलाई राजश्व छलेको विषयमा खाेजमूलक समाचार बाहिर ल्याएकाे भन्दै ५१ हजार ५१ रुपैयाँ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको हो ।








