तनहुँमा मतपत्र आइपुग्यो
तनहुँ । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ ।
तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र आइपुगेको छ । ढुवानी गरिएका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । “निर्वाचनलाई आवश्यक ६१ प्रकारका सामग्री आइपुगेको छ”, ढकालले भने ।
निर्वाचन कार्यालयका अनुसार रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्रलगायत सामग्री आइपुगेको छ ।
निर्वाचनका लागि कर्मचारी खटनपटनको कामका लागि निर्वाचन आयोगले कर्मचारी, शिक्षक सङ्घ सङ्गठनहरुसँग बिहीबार छलफल गरेको छ । निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन भइसकेको ढकालले जानकारी दिए।
जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवारी दर्तापछि राजनीतिक दलहरुले घरदैलो अभियान सुरु गरिसकेका छन् । निर्वाचनका लागि यहाँ दुई हजार ३७६ जनशक्ति परिचालन गरिँदैछ ।
निर्वाचनका लागि १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण भएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिने बताइएको छ । यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन् ।
तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता थिए । रासस








