एन्फालाई अल्मुताइरीको पत्र:‘अनुमतिबिना बन्द प्रशिक्षण छोडेका खेलाडीलाई पुनः टोलीमा समावेश गराउदिन’
काठमाडौं । नेपाली रााष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुमतीबिना बन्द प्रशिक्षण छोडेका खेलाडीहरुलाई पुनः टोलीमा समावेश नगराउने स्पष्ट पारेका छन् । खेलाडीसँग पछिल्लो समय उत्पन्न भएको विवादबारे जानकारी दिदै अलमुताईरीले एन्फालाई पत्र पठाएका हुन् ।
प्रशिक्षक अलमुताईरीले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै आफूले खेलाडीहरुलाई बन्द प्रशिक्षण छोड्न नभनेको र उनीहरु आफू खुशी होटलबाट भागेको बताएका छन् ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै अलमुताईरीले लेखेको पत्रमा प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही भने नगर्न आग्रह गरेका छन् ।
बुधबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीले पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अल्मुताइरीको व्यहारबाट हैरान भएको र आफूहरुले जायज माग राख्दा समेत प्रशिक्षण छोडेर जान भनेकाले कठिन कदम उठाउन बाध्य भएको बताएका थिए ।
१० खेलाडीले क्याम्प छाडेपछि अलमुताईरीले थप १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएर एएफसी एसियन कप छनोट तयारी गराइरहेका छन् ।









