नवौं राष्ट्रिय खेलकुद : तयारीमा जुट्यो प्रदेश सरकार
पोखरा, २० वैशाख । पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताबारे गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ ।
प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज उच्चस्तरीय बैठक बोलाए । प्रतियोगितालाई व्यवस्थापन गर्न अनि दोस्रो प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक डाकेका हुन् ।
मुख्यमन्त्री पोखरेलले संघ सरकारको कार्यक्रम भए पनि पोखरामा हुन लागेको यस प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्न निर्देशन दिए ।
प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यक बजेटको प्रवन्ध गर्न सरकार तयार रहेको प्रतिबद्धता उनले जनाए ।
बैठकमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड्काले संघ सरकारसँगको सहकार्यमा प्रतियोगितालाई व्यवस्थित गर्र्नुपर्नेमा जोड दिए ।
प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रतियोगितामा सहभागिता जनाउने सन्दर्भमा मन्त्रिपरिषदबाट निर्णय गरेर अगाडि बढिने उनले जानकारी गराए । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आधिकारिक पत्राचारका लागि संघ सरकारसँग आफूले पहल गर्ने बताए । प्रदेशमा खेलाडी छनोट र खर्च प्रक्रियाका लागि आवश्यक पर्ने कार्यविधि तत्काल निर्माण गरिने उनले जानकारी गराए ।
अर्थसचिव वैकुन्ठ अर्यालले पहिला खेलाडी छनोटको कार्यविधि तयार भएपछि बजेट व्यवस्थापन गरिने बताए ।
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । उनले प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापन लगायत कामका लागि ५ करोड २० लाख रुपैयाँ आवश्यक पर्ने बताए ।
उनका अनुसार प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । पोखरामा हुने भएकाले प्रतियोगितामा नसमेटिने गरी छेलो र क्यानोनिङ समेत समावेश गर्न लागिएको छ ।
गण्डकीमा खेल गतिविधि अत्यधिक हुने भए पनि राष्ट्रियस्तरका प्रतियोगितामा गण्डकीको नतिजा भने अत्यन्तै कमजोर हुने गरेको छ । नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी छैटौं नम्बरमा थियो । उक्त प्रतियोगितामा ७ वटा प्रदेशका अतिरिक्त ३ वटा विभागीय टोली सहभागी थिए ।
अहिले भने एनआरएनको टोली समेत थपिएर ११ वटा टोलीबीच प्रतियोगिता हुने भएको छ । प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक खेलको प्रतियोगिता हुने गरी व्यवस्थापन मिलाउन लागिएको छ ।








