१२ श्रावण २०८१, शनिबार

अर्घाखाँची जिल्ला आजरातिदेखि ‘लक डाउन’

प्रकाशित मिति :  23 March, 2020 12:45 pm


अर्घाखाँची, १० चैत । नोवेल कोरोना भाइरस (कोभिड) संक्रमणको जोखिमलाई ध्यान दिंदै आजरातिदेखि अर्घाखाँची जिल्ला ‘लक डाउन’ हुँने भएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले अर्को सूचना जारी नभएसम्मका लागि जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

अब अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक निजी सवारी साधन र मोटरसाइकलको आवतजावत सोमबार राति १२ बजेदेखि पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

मालबाहक सवारी साधनका चालक र सहचालकको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिईने छ । खाद्यान्न, ग्याँस, तेल, फलफूल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म मात्र खुला गर्ने र दूध डेरी, सागसब्जी पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ सम्म मात्र खुला गर्ने निर्णय गरिएको छ ।

ठेला गाडामा सञ्चालित व्यवसायमा अर्को सूचना नभएसम्म प्रतिबन्ध लगाइएको छ । अस्पताल, औषधि पसल र पेट्रोल पम्प भने २४ सै घन्टा खुला रहने निर्णय भएको छ ।

प्रदेश ५ सरकारले कोभिड १९ संक्रमण रोक्न कुनै क्षेत्र वा जिल्ला लकडाउन गर्नुपर्ने अवस्था आएमा जिल्लागत योजना प्रमुख जिल्ला अधिकारीले बनाउन सक्ने निर्णय चैत ७ गते गरेअनुसार यस्तो निर्णय गरिएको प्रजिअ पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !