१२ श्रावण २०८१, शनिबार

बाँकेको क्यान्सर अस्पताल कोरोना भाइरस उपचारका लागि प्रयोग हुने, अस्पतालको नेतृत्व मन्त्री चौधरीले गर्ने

प्रकाशित मिति :  25 March, 2020 10:37 am


बाँके, १२ चैत । बाँकेमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेशनका रुपमा प्रयोग गरिने भएको छ ।

स्थानीयस्तरबाट नेपालगञ्जस्थित भेरी अस्पताल, लायन्स डेण्टल अस्पताल र नेपालगञ्ज शिक्षण अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएकोमा प्रदेश ५ सरकारको निर्देशनमा खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताललाई पनि आइसोलेशन बनाउने प्रक्रिया अघि बढेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् ।

तयारीका लागि प्रदेश ५ सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी नेतृत्वको टोलीले मङ्गलवार अस्पतालको अवलोकन गरेको छ । अवलोकनपछि बसेको बैठकले कोरोना भाइरस सङ्क्रमितहरुको उपचारका लागि आइसोलेशन अस्पतालको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नेगरि विभिन्न निर्णय भएपछि क्यान्सर अस्पताललाई पनि अब आइसोलेशनको रुपमा प्रयोग गर्न सकिने भएको छ ।

अस्पतालको नेतृत्व भौतिक पूर्वाधार विकास मन्त्रालय बैजनाथ चौधरीले नै गर्ने छन् । मन्त्री चौधरीको संयोजकत्वको समितिमा सदस्यहरुमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख, बाँकेका प्रमुख जिल्ला अधिकारी, खजुरा गाउँपालिकाका अध्यक्ष, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, क्यान्सर अस्पतालका प्रमुख, नेपाल प्रहरी अस्पताल नेपालगञ्जका प्रमुख, नेपालगञ्ज मेडिकल कलेजका प्रमुख र बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहेका छन्।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा व्यवस्था मिलाउने गरि भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति समेत गठन गरेको छ । कोरोना भाइरस सङ्क्रमित विरामीलाई उपचारको लागि लायन्स डेण्टल अस्पतालमा ४०, भेरी अस्पतालमा ६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा करिब ५ शैय्याको आइसोलेशन कक्ष तयारी अवस्थामा छ । यस्तै महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !