१२ श्रावण २०८१, शनिबार

कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५२ यात्रु पक्राउ, काठमाण्डौंमा ३ सय भन्दा बढी सवारीसाधन प्रहरी नियन्त्रणमा

प्रकाशित मिति :  25 March, 2020 12:30 pm


काठमाण्डौं, १२ चैत । लक डाउन उल्लंघन गरेर काठमाडौंबाट कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५२ यात्रु पक्राउ परेका छन् । सामान बोक्ने कन्टेनरभित्र लुकेर वीरगञ्जपुगेका ५२ यात्रुलाई पर्सा प्रहरीले पक्राउ गरिएको
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिईन् । उनीहरुलाई मध्यराति वीरगञ्जको घण्टाघरबाट पक्राउ गरिएको हो । पक्राउन परेका ५२ जना लकडाउन उल्लङ्घन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौँडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

काठमाडौंमा वीरगञ्ज फर्केको ना ५ ख ९५५२ नम्बरको सामान बोक्ने कन्टेनर चढेर उनीहरु वीरगञ्ज आइपुगेको एसपी पन्तले जानकारी   दिइन् ।

३०० भन्दा बढी सवारीसाधन प्रहरी  नियन्त्रणमा

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाँउबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको प्रवक्ता श्रेष्ठको भनाई छ । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले जानकारी दिए । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देश लक डाउन गरेको छ । तर,सरकारको नियम उल्लंघन रोकिएको छैन । सरकारले कोरोनाभाइरसबारे संवेदनशील हुन आग्रह गर्दै आएको छ ।

तनहुँमा लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधन प्रहरी नियन्त्रणमा

तनहुँमा पनि लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

अधिकारीले भने,‘जबर्जस्ती सवारी साधन चलाउनेलाई कडा कारवाही गर्छौ ।’ अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !