१२ श्रावण २०८१, शनिबार

कोरोना संक्रमण भएका तेस्रो व्यक्ति धादिङका युवा,चैत ६ गते कतारबाट आएका थिए

प्रकाशित मिति :  25 March, 2020 5:28 pm


काठमाण्डौं, १२ चैत । कोरोना संक्रमण भएका तेस्रो व्यक्ति धादिङका  ३२ वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पत्रकार सम्मेलन गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले थप एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि गर्दै उनी धादिङको भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पनि उनले जानकारी दिए । कतारबाट आएका युवक काठमाडौंको एक होटेलमा बसेको पनि मन्त्री ढकालले जानकारी दिए। ति युवकको मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्री ढकालले जानकारी दिए।

उनीसँग आएका र भेटेका व्यक्तिलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए । मन्त्री ढकालले भने,‘उनीसँग भेटेका र सम्पर्कमा पुगेका उनका साथी र अन्य मानिसलाई सम्पर्कमा आउन अपिल गरेका छौुं, कतारबाट आउँदाका उनका साथीहरुबारे पनि जानकारी लिँदैछौं। चाँडो भन्दा चाँडो सबैको विवरण लिएर उनीहरुलाई क्वारेन्टाइनमा राख्छौं ।’

अहिलेसम्म नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएपनि उपचारपछि उनी निको भइसकेका छन् । चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । युवतीको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । र, आज तेस्रो संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !