कोहलपुर-सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय
काठमाडौं । सरकारले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आयोजनाका लागि रुख कटानसम्बन्धी प्रस्ताव अझ स्वीकृत नहुँदा जङ्गल क्षेत्रमा निर्माणकार्य प्रभावित भएको थियो ।
प्रसारणलाइन आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्ने अनुमान छ । ५२ किमी दूरी रहेको यस प्रशारण लाइनमा डबल सर्किटका १६१ वटा टावर निर्माण हुने छ ।
झण्डै रु. ७० करोड लागतमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले प्रशारण लाइन निर्माणको जिम्मा लिएको छ । वि.सं. २०७७ असारमा ठेक्का सम्झौता भएको थियो ।
आयोजनाका अनुसार प्रशारण लाइनको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्दछन् ।








