७ बैशाख २०८१, शुक्रबार

रोल्पाका बुढामगरद्वारा उत्तर अफ्रिका*को सबैभन्दा अग्लो हिमाल टुब्कलको सफल आरोहण

प्रकाशित मिति :  25 June, 2022 3:37 pm


काठमाडौं । रोल्पा मिरुलका हरिबहादुर बुढामगरले मोरोक्कोको माउन्ट टुब्कलको सफलतापूर्वक आरोहण गरेका छन् ।

टुब्कल उत्तर अफ्रिकाको सबैभन्दा अग्लो हिमाल हो । यसको उचाई ४,१६७ मिटर छ । अफगान युद्धका क्रममा दुबै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक बुढामगरले ट्रिबल ट्रेक मार्फत साथी जेम्स रोजसँगै हिमाल चढेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बुढाले भनेका छन्,“नेपाली हुनुमा गर्व छ, उत्तर अफ्रिकाको सबैभन्दा अग्लो हिमाल मोरक्कोस्थित माउन्ट टुब्कल आरोहण गरेर अर्को रेकर्ड कायम गर्न पाएकोमा खुशी लागेको छ । हाम्रो टिमले २२ जुन २०२२ मा स्थानीय समय अनुसार १२ बजे ४ हजार १६७ मिटर उचाइमा रहेको हिमाल आरोहण गरेका छौं ।”

उनले नेपाल र विश्वभर यो जानकारी दिन पाउँदा गर्वले छाती फुलेको उल्लेख गरेका छन् । आरोही बुढामगरले थप भनेका छन्,“तपाइहरू सबैको माया, साथ सहयोगले अझै धेरै गर्नु छ । देशले मलाइ धेरै दियो, अब देशको लागि केही गर्ने अभियान नियन्तर जारी छ ।”

ब्लेस्मा च्यारिटीको कोष संकलनका लागि हिमाल आरोहण गरेको बुढामगरले जानकारी दिए । बुढामगर घुँडाभन्दामाथिबाट नै खुट्टा गुमाएका कृतिमानी आरोही हुन् । उनले केही समय पहिले कृतिम खुट्टाले हिँड्दै सगरमाथा बेस क्याम्प पुगेर कृतिमान कायम गरेका थिए । सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका हरिबहादुर बुढा मगर अफगान युद्धमा सन् २०१० मा दुबै खुट्टा गुमाएका थिए ।

आगामी सिजनमा सगरमाथा आरोहण गर्ने उनको तयारी छ ।

*अन्यथा भएकाले सच्चाइएको



प्रतिक्रिया दिनुहोस !