१५ चैत्र २०८०, बिहिबार

मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग

प्रकाशित मिति :  30 June, 2022 7:51 am


रामपुर । पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सहयोग गरेको हो ।

दर्जीको घरमै पुगेर नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, वडाध्यक्ष दिवाकर देवकोटालगायतले सो रकम हस्तान्तरण गरेका हुन । समस्यामा परेका बालबालिकालाई आपत्कालीन बाल उद्धार कोषबाट आर्थिक सहयोग गरिएको आपत्कालीन सञ्चालन समितिका संयोजक एवं नगर प्रमुख थापाले बताए ।

पछिल्लो समय भारतमा नियमित उपचार गराउँदै आएका दर्जीलाई थप उपचार तथा शैक्षिक सामग्री खरिद गर्न सहजहोस् भनेर सहयोग गरिएको हो । आमा बेलमायाले धेरैको सहयोगले छोराको उपचारमा सहज भएको बताए ।

यसैबीच आपतकालीन बाल उद्धार कोष सञ्चालन नियमावली, २०७७ को परिच्छेद १ को नियम २ बमोजिम रामपुर नगरपालिका–२ का सङ्गीत थापालाई उपचारका लागि तथा प्रतिमा कुमाल र पूजा कुमाललाई शैक्षिक सामग्री खरिद गर्न रु २०/२० हजार प्रदान गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस !