१२ श्रावण २०८१, शनिबार

वीरेन्द्रनगर नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने

प्रकाशित मिति :  27 March, 2020 3:36 pm


सुर्खेत, १४ चैत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउने भएको छ ।

वीरेन्द्रनगर नगरकार्यपालिकाको आज बसेको आकस्मिक बैठकले लकडाउनको अवधि १८ गतेपछि लम्बिएमा दिनभरि मजदूर गरेर दुई छाक जोहो गर्ने परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले राहत वितरणका लागि प्रतिवडा पाँच लाखका दरले खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।

कोभिड–१९ का कारण नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। भनेले भनिन्,‘लकडाउनको अवधि चैत १८ गतेपश्चात् पनि थप भएको अवस्थामा बन्दका कारणले साँझ–बिहान खान नपाउने किसिमका परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेका छौँ ।’

त्यसैगरी बन्दका कारण साँझ- बिहानको न्यूनतम खाद्य सामग्री खरिद गर्न घरबाहिर जान नसक्ने अवस्था भएमा वडावासीलाई घरबाटै खाद्य सामग्री खरिद गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाउने तयारीमा रहेको ढकालले बताइन् ।



प्रतिक्रिया दिनुहोस !