७ बैशाख २०८१, शुक्रबार

आजदेखि लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा निःशुल्क टिकट

प्रकाशित मिति :  17 July, 2022 11:16 am


बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गरेको छ । आर्थिक अवस्था कमजोर भएकाहरूले उपचारका लागि निःशुल्क बेड, बिरामी पुर्जा र रगत पाउने भएका छन् ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९\०८० साउन १ गतेदेखि लागु हुने गरी प्रादेशिक स्तरका दुई सरकारी अस्पतालमा बिरामीलाई बेड, बिरामी र रगत सेवा निःशुल्क सञ्चालनमा ल्याएको हो । सोही घोषणा अनुरूप आज प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले उक्त निःशुल्क सेवाको शुभारम्भ भएको घोषणा गरेका हुन्।

निःशुल्क सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले जनताको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्धेश्यका साथ काम गरिरहेको बताए।

यसका लागि प्रदेश सरकारले निःशुल्क रगतका लागि ३ करोड र अस्पतालको ईमर्जेन्सी र ओपिडी टिकट तथा जनरल बेड निःशुल्क गर्नका लागि १ करोड ५० लाख रुपैयाँ बजेटमा बिनियोजन गरेको छ।

निःशुल्क रगत उपलब्ध गराउन लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भईसकेको छ। सेवा विस्तारसँगै विपन्न वर्गका नागरिकले पनि उपचार सेवा पाउनबाट समेत वञ्चित हुनुपर्ने बाध्यतालाई हटेको छ ।



प्रतिक्रिया दिनुहोस !