१३ बैशाख २०८१, बिहिबार

विश्वमा ७५ देशका १६ हजार बढी मानिसलाई मङ्कीपक्स संक्रमण

प्रकाशित मिति :  24 July, 2022 9:17 am


काठमाडौं । मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभरि ७५ देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो।

विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो। यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजार भन्दा बढी केसहरू भेर्टिएको रिपोर्ट गरिसकेका छन्। प्रकोपका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको उनले बताए।

मङ्कीपक्सबाहेक हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन्।

डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन। तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताए।

उनले सङ्क्रमणको नयाँ माध्यमबारे निकै कम कुराहरू स्पष्ट भएको बताए।



प्रतिक्रिया दिनुहोस !