२१ बैशाख २०८१, शुक्रबार

कोकाकोलाले बोटलिङ इन्भेस्टमेन्ट ग्रुपका प्रमुखलाई मुख्यालय तान्यो

प्रकाशित मिति :  1 August, 2022 3:21 pm


स्वामित्व हेरफेर भएको प्रमाण

काठमाडौं । नेपालमा स्वामित्व किनबेचमा कर छली विवादमा परेको द कोकाकोला कम्पनीले नेपालसहित दक्षिण-पूर्वी एसियाका देशहरूमा बोटलिङ व्यवसाय हेर्दै आएको द बोटलिङ इभेस्टमेन्ट ग्रुप (बीआईजी)का प्रमुख मार्सेलो बफीलाई मुख्यालयमा तानेको छ । बफीका ठाउँमा कसलाई पठाइयो भन्ने कोकाकोला कम्पनीले जानकारी भने दिएको छैन ।

द कोकाकोला कम्पनीले दुई मोडलबाट विश्वभरि कार्वनयुक्त पेयको उत्पादन गर्नेगर्छ, आफ्नै स्वामित्वअन्तर्गत र अन्य कम्पनीलाई कोकाकोलाको लोगो प्रयोग गर्न दिएर (फ्रान्चाइज)बाट । अधिकांश फ्रान्चाइजमा आधारित बोटलिङ व्यवसाय द बोटलिङ इन्भेस्टमेन्ट ग्रुपले हेर्ने गर्छ ।

नेपालको फ्रान्चाइज पाँच पटकसम्म किनबेच हुँदा करसम्बन्धी कुनै विवाद नआएकोमा सन् २०१४ अक्टोबर २४ मा आयरल्यान्डमा दर्ता गरिएको अफसोर कम्पनी युरोपिन रिफ्रेसमेन्टमार्फत किनिएपछि त्यसको औपचारिक जानकारी नेपालका कुनै पनि नियमाकीय निकायलाई नदिइ तिर्नुपर्ने करिब साढे ७ अर्ब रुपैयाँबराबरको कर छलिएपछि यो मुद्दा अदालतमा पुगेको छ ।

छानबिनका क्रममा बोटलर्स नेपाल लिमिटेडका अधिकारीहरूले युरोपियन रिफ्रेसमेन्टलाई स्वामित्व बेचिएको स्वीकार गरे पनि कतिमा किनबेच भएको हो भन्ने कुनै दस्तावेज भने राजस्व अनुसन्धान विभागमा पेश नै गरेनन् । बोटलर्स नेपालका अधिकारीहरूले युरोपियन रिफ्रेसमेन्टले स्वामित्व किनेको बयान दिए पनि टक्सार मिडिया समूह/लुम्बिनी सञ्चाले प्राप्त गरेको इमेल पत्राचारमा भने बोटलिङ इन्भेस्टमेन्ट ग्रुपकै नाम उल्लेख छ । (हेर्नुहोस इमेल)

नेपाली मिडियामा बोटलिङ इन्भेस्टमेन्ट ग्रुपको स्वामित्वबारे खुलेसँगै कोकाकोला बोर्डले उच्च व्यवस्थापकीय हेरफेर गरेकाे स्रोतले बतायो । “बीआईजीबारे अहिलेसम्म विश्वभरि कुनै विवाद सिर्जना भएको छैन, नेपालको बोटलिङ व्यवसाय नै यस्तो विवादमा परेको पहिलो हो,” बोटलर्स नेपालका एक अधिकारीले भने, “नेपालमा केही पनि भएकै छैन भनेर देखाउन खाेजिएको भए पनि यसले समग्र चेनमै तरङ्ग आएको छ ।”

धमाधम ‘रिफ्रान्चाइज ‘

द कोकाकोला कम्पनी, एटलान्टाले कर विवाद र अदालती प्रक्रियाहरूबाट मुक्ति पाउन नेपालसहित भियतनाम, क्याम्बोडिया, मलेसिया र सिंगापुरका बोटलिङ व्यवसायहरू हालका स्वामित्वधारीबाट झिकेर अरुलाई बेच्ने रणनीति अवलम्बन गर्न थालेको छ । यसक्रममा कोकाकोला इन्स्वाको पनि व्यवस्थापनमा हेरफेर गर्ने तयारी थालिएको छ ।

भारतसहित दक्षिण पूर्वी एसिया हेर्ने यो युनिटको प्रमुखमा हाल संकेत रे छन्, जो बोटलर्स नेपालको स्वामित्व किनबेचमा प्रमुख रणनीतिकार मानिएका छन् । रेलाई राजस्व अनुसन्धान विभागले सम्पर्कमा नआएका अभियुक्तका रुपमा अदालतमा दायर अभियोजनपत्रमा उल्लेख गरिएको छ ।

विभागले कम्पनी बोटलर्स नेपाल लिमिटेडमा २०७७ मंसिर २३ गते १ बजे छापा मारेर सम्पूर्ण महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएको थियो । त्यसपछि कम्पनीका वर्तमान प्रबन्ध सञ्चालक प्रदीप पाण्डे, सञ्चालक समितिका तीन जना नेपाली सदस्य सुरेन्द्र सिलवाल, नर्मदेश्वरनारायण सिंह र त्रिलोचन उप्रेती, वित्त निर्देशक अशोक मण्डल, कम्पनी सचिव प्रतिमा बर्मासहित अन्य पदाधिकारीसँग पटक-पटक बयान लिएको थियो ।

रेसहित कोकाकोला इन्स्वाका तर्फबाट बोटलर्स नेपालमा सञ्चालक, व्यवस्थापक रहेका विदेशीहरू कोही पनि सम्पर्कमा आएका थिएनन । रेसहित १० जना सञ्चालक, कम्पनीकी अध्यक्ष शुक्ला वासन, तीन प्रबन्ध निर्देशक, तीन वित्त व्यवस्थापक र एक वित्त नियन्त्रक अशोक मण्डल प्रत्येकमाथि तीन अर्ब ७१ करोड ८१ लाख रुपैयाँको बिगो मागदावी गरेर विभागले मुद्दा दायर गरेको हो ।

तत्कालीन अधिराजकुमारी हेलन शाहको नाममा २०२९ सालमा दर्ता भएको बोटलर्स नेपाल प्रालिमा भारतीय लगानीकर्ता नकुल धर्मचन्द कमानीले २०३५ सालमा ५ करोड भारु लगानी गरि २०३६ सालदेखि नेपालमा कोकाकोलाको उत्पादन सुरु गरेका थिए । कमानीले सन् १९८३ मा दरबारलाई आफ्नो स्वामित्व बेचेर फर्किएपछि मात्र बोटलर्स नेपालको स्वामित्व पाँच पटकसम्म किनबेच भएको छ ।

अन्तिम पटक सन् २००४मा एफएन्डएन कोकाकोका सिंगापुरले दक्षिण अफ्रिकाको गुत्से परिवारलाई बोटलर्स नेपालको सत प्रतिशत स्वामित्व बेचेको र सन् २००७ मा यो कम्पनीलाई स्टक एक्सचेन्जमा सूचीकृत गरिएपछि ७६ प्रतिशत स्वामित्व गुत्से स्वामित्वको कोकाकोला साब्को एसिया लिमा रहँदै आएको थियो ।

सन् २०१४ मा गुत्से परिवारले आफ्नो स्वामित्वको सेयर अमेरिकी माउ कम्पनी द कोकाकोला कम्पनीलाई बेचेर फर्किएपछि यी दुई मुख्य स्वामित्व किनबेच प्रकरणमा नेपालका नियामकीय निकायलाई सही जानकारी नदिइ यहाँ तिर्नुपर्ने अग्रिम आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकरलगायतका कर छलिएको पाइएको हो ।



प्रतिक्रिया दिनुहोस !