१५ बैशाख २०८१, शनिबार

‘विज्ञान शिक्षक सम्मान २०२२’ घाेषणा, उत्कृष्ट ७ शिक्षकलाई पुरस्कत गरिने

प्रकाशित मिति :  8 September, 2022 4:21 pm


काठमाडाैं । विज्ञान शिक्षक समाज नेपाल (स्टान) र नेपाली बौद्धिक समुदायको सहकार्यमा ‘विज्ञान शिक्षक सम्मान २०२२’ को घोषणा गरिएको छ ।

‘विज्ञान संस्कार प्रवर्द्धन गरौँ, विज्ञान शिक्षकको सम्मान राखौं’ भन्ने नाराका साथ आगामी असोज १ गते मनाइने दशौं राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसर पारेर पुरस्कृत हुने शिक्षककाे नाम घाेषणा गरिने भएकाे छ।

स्टानले बुधबार भर्चुअल पत्रकार सम्मेलन गर्दै सम्मानित हुने सात विज्ञान शिक्षकलाई सम्मान स्वरूप जनही २५ हजार रुपैयाँ र कदरपत्रबाट पुरस्कृत गरिने घोषणा गरेको हो । देशभरका विज्ञान शिक्षकहरू मध्येबाट उत्कृष्ट ७ जनालाई ‘वर्षको विज्ञान शिक्षक’ पुरस्कारबाट सम्मानित गरिने भएकाे छ ।

पुरस्कारका लागि आवेदन समेत आह्वान गरिसकिएको जनाइएकाे छ। नेपालका संस्थागत/सामुदायिक सबै खाले विद्यालयमा माध्यमिक तहमा कम्तीमा १० वर्षदेखि सेवा गर्दै आएका र समाजमा उदाहरणीय बनेका विज्ञान शिक्षकहरुले आवेदन दिन सक्नेछन् ।

नेपालका प्रतिष्ठित वैज्ञानिक समूहको एक ‘विज्ञान शिक्षक सम्मान पुरस्कार मूल आयोजक समिति’ सँगै सहजीकरणका लागि एक स्टान कार्यदल समेत गठन गर्दै छनौटलाई निष्पक्ष र मर्यादित बनाउने प्रयास गरिएकाे छ ।

नेपालमा रहेका करिब १५ हजार विज्ञान शिक्षकले विद्यालयमा विज्ञान संस्कारको प्रवर्द्धन गरिरहेका र त्यस कार्यले प्रत्यक्ष/अप्रत्यक्ष राष्ट्रको समृद्धिमा टेवा पुगेको भए पनि राज्यको कुनै पनि प्रोत्साहनबाट आजसम्म विज्ञान शिक्षकलाई सम्बोधन नगरिएको समितिका संयोजक प्राज्ञ डा. दिनेश राज भूँजुले गुनासाे गरे । उनले भावी विज्ञान पेशाकर्मी जन्माउने राष्ट्रकाे आधार विज्ञान शिक्षकलाई सम्मान स्वरूप यो पुरस्कार स्थापना गरिएको बताए ।

असोज १ गते पर्ने विज्ञान दिवसको मूल समारोहमा यो पुरस्कारबाट सम्मानित हुने विज्ञान शिक्षकको घोषणा गरिने र त्यसै समारोहमा सम्मानको मिति, स्थान र समय समेत खुलाइने समितिका सदस्य सचिव मनोज आचार्यले बताए । यसका लागि आगामी भदौ २४ गतेसम्म देशभरका विज्ञान शिक्षकहरूले अनलाईन आवेदन दिन सक्नेछन् ।

कार्यक्रममा स्टानका प्रवक्ता डम्बरू प्रसाद पोखरेलले विद्यालय विज्ञान देशको आधार भए पनि राज्यको लगानीबाट उपेक्षित भएको र राज्यले यसलाई उचित सम्बोधन गर्नुपर्ने जिकिर गरे ।

आयोजक मूल समितिका सदस्य त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामेश्वर अधिकारीले यो सत्कर्मलाई सबैले साथ दिनुपर्ने भन्दै भविष्यमा यो पुरस्कार प्रदेश सरकारले दिनेगरी जिम्मा दिन व्यवस्थापनका लागि पहल गरिने जानकारी दिए । यस वर्षको पुरस्कारबाट सम्मानित विज्ञान शिक्षकहरूलाई भने उनीहरूकै प्रदेशमा प्रदेश मुख्यमन्त्रीबाट समय मिलाई सम्मानित गर्ने आयोजकको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !