१३ बैशाख २०८१, बिहिबार

हुम्लामा खाद्यान्न ढुवानी शुरु

प्रकाशित मिति :  1 April, 2020 7:29 pm


 

हुम्ला, १९ चैत । 

देशभर लकडाउन भइरहे पनि आजदेखि उच्च हिमाली हुम्लामा खाद्यान्न ढुवानी शुरु भएको छ । हुम्ला जस्तो विकट ठाउँमा खाद्यान्नको अभाव भएका बेला प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको पहलमा खाद्यान्न ढुवानी शुरु भएको छ । हुम्ली भोकले नमरुन् भन्ने उद्देश्यका साथ सांसद लामाले सीता एयरलाई अनुरोध गरेपछि नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाको चामल ढुवानी हुने भएको हो ।

सीता एयरको जहाजबाट आजै दुई उडानले खाद्यान्न ओसारेको सिमकोट स्टेशनका निमित्त स्टेशन इन्चार्ज सूर्य लामाले बताउनुभयो । कोभिड १९ को जोखिम बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउन भए पनि कर्णाली प्रदेशको हुम्लामा खाद्यान्न ढुवानी हुनु भनेको सराहनीय भएको स्थानीयवासी लोग भण्डारीले बताउनुभयो ।

सडक यातायातले नछोएको मुलुकको एक मात्र जिल्ला हुम्लामा खाद्यान्न ढुवानी अझै पनि परम्परागत ढंगबाट नै गरिँदै आएको छ । यसपटक देखिएको खाद्यान्न अभाव हटाउन आजदेखि हवाई माध्यमको सहारा लिइएपछि जिल्लामा खाद्यान्नको अभाव नहुने देखिएको छ । आज बिहान नेपालगञ्जबाट दुई हजार ८१० केजी चामल सीता एयरका जहाजले पु¥याएको तथा सुर्खेतबाट दुई उडानमा तीन हजार २१० केजी चामल ढुवानी भएको एयर सिमकोट स्टेशनका निमित्त इन्चार्ज लामाले बताउनुभयो ।

लकडाउनका बेला हुम्लामा हुने खाद्यान्न अभावलाई ध्यानमा राखी हुम्लीलाई खाद्य समस्या नहोस् भनेर ढुवानी गर्न लागिएको सङ्घीय सांसद लामाले बताउनुभयो । आगामी दिनमा नुनको पनि ढुवानी गर्न लगाइने सांसद लामाको भनाइ छ ।

१० जना आफैँ बसे क्वारेन्टाइनमा
जिल्ला सदरमुकाम सिमकोटमा बनेको ३० शय्याको क्वारेन्टाइनमा जिल्ला बाहिरबाट हुम्ला पुगेका १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु जिल्ला बाहिर काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगञ्ज, सुर्खेतलगायत शहरबाट मुगु हुँदै पैदल भएर सिमकोट पुगी आफैँ क्वारेन्टाइनमा स्वास्थ्यकर्मी प्रजित बोहराले बताउनुभयो ।

उनीहरुमा कुनै खालको संक्रमण नभए पनि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डानुसार क्वोरन्टाइनमा राखिएको हो । जिल्ला बाहिरबाट आएका हुनाले उनीहरुमा संक्रमण भेटिएमा समस्या बढी हुने भएकाले पनि क्वारेन्टाइनमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !