१६ कार्तिक २०८१, शुक्रबार

बंगलादेशलाई हराउँदै पाकिस्तान टी-२० विश्वकपमा सेमिफाइनलमा

प्रकाशित मिति :  6 November, 2022 1:50 pm


काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने खेलमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल अगावै ५ विकेट गुमाएर जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर नाजमुल होसेन सान्तोले ४८ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए । अफिफ होसेनले अविजित २४ रन जोडे । सौम्य सरकारले २० रन बनाए ।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । शदाब खानले २ विकेट लिए । हरिस राउफ र इफ्तिखर अहमदले समान १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका ओपनर कप्तान बाबर आजम र मोहम्मद रिजवानले ५७ रनको साझेदारी गर्दै टिमलाई मजबुद अवस्थामा पुर्याए। बाबर २५ रन बनाउदा रिजवन ३२ रनको योगदान दिए ।

बलिङतर्फ बंगलादेशका नसुम अहमद, शकिब अल हसन, मुस्ताफिजुर रहमान र एबाडत हवसेनले समान १ विकेट लिए ।

यसअघि समुह ए बाट न्युजिल्याण्ड विजेता र इंग्ल्याण्ड उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् भने समूह बी बाट भारत एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् । भारतलाई समूह विजेता बन्न आइतबार नै हुने खेलमा जिम्वाबेलाई हराउनुपर्नेछ । भारत पराजित भएको अवस्थामा पाकिस्तान समूह विजेता हुनेछ ।

सेमिफाइनलमा समूह ए को विजेता र बी को उपविजेता तथा समूह बी को विजेता र एको उपविजेताबीच प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !