कांग्रेस सभापति देउवाद्धारा स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाण्डौं, २१ चैत ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नहरूलाई कारवाही अगाडी बढाउन आग्रह गरेका छन् । सभापति देउवाले उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
सभापति देउवाले आज वक्तव्य जारी गरी गर्दै खरिद प्रकृयाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गहिरो अनुसन्धान गर्न र कारवाहीको प्रक्रिया अघि बढाउन आवश्यक भएकोमा जोड दिएका छन् ।
कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो दल सरकारका साथमा रहेको र हरसम्भव सघाइरहेको भन्दै सभापति देउवाले धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालनाका साथ युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाव दिएका छन् । सभापति देउवाले ‘काठमाडौँप्रेस डटकम’ मा प्रकाशित भनिएको खरीद प्रकरणको समाचार ‘साइबर’ अतिक्रमणमा परेको भनी आपत्ति जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।