१३ बैशाख २०८१, बिहिबार

विराटनगरबाट नेपथ्यको कन्सर्ट सुरु, मानव सेवा आश्रमको सहयोगार्थ देशभर लाइभ कन्सर्ट

प्रकाशित मिति :  4 December, 2022 7:42 am


काठमाडौं । चर्चित नेपाली व्याण्ड नेपथ्यले मोरङको विराटनगरबाट देशव्यापी कन्सर्ट सुरु गरेको छ । विराटगरस्थित हाटखोला मैदानमा सनिवार राती सम्पन्न कन्सर्टमा करीब पाँच हजार दर्शकले सहभागिता जनाएका छन् ।

एक्काइस वर्षपछि विराटनगर पुगेको नेपथ्य र मुख्य गायक अमृत गुरुङको प्रस्तुति मुख्य आकर्षणको विषय थियो । कन्सर्ट हेर्न भारतको सिक्किम, आसामबाट समेत सङ्गीत पारखीहरु सहभागी भएको जनाइएको छ ।

गुरुङको आफ्नो प्रस्तुतिमा दर्शकहरु नाचेका थिए । भेडाको ऊनजस्तो… गीत गाएर कन्सर्टको ढोका खोलका गुरुङले गीत छेक्यो छेक्यो…, उडायो रेलैले, जोमसोमे बजार, शिरफूल शिरैमा, यो जिन्दगी, गाउँगाउँबाट उठ…लगायतका गीत गाएका थिए।
मानव सेवा आश्रमको सहयोगार्थ कन्सर्ट गरिएको थियो ।

“कसैले गर्न नसकेको काम मानवसेवा आश्रमले गरिरहेको छ, उहाँहरुलाई मुरिमुरी नमन छ”, गुरुङ प्रस्तुतिकैबीचमा भने, “यसमा दान गरेर पुण्य कमाउँ हो.ओ..ई ।” आआफ्नो गल्ती मनन गरेर एक जुट भई देश विकासमा लाग्न आग्रह गर्दै गायक गुरुङले थपे, “देश आफैँले बनाउने हो, कसैले बनाइदिन्नन्, हामी आफैँ जुटौँ ।”

विगत २१ वर्ष अघि विराटनगरमा शिक्षाका लागि कन्सर्ट गरेको स्मरण गर्दै गायक गुरुङले अहिले जो सडक आश्रित मानवहरु छन्, जसका कोही छैनन्, उनीहरुका लागि मानवसेवा आश्रमसँग सहकार्य गर्न पाएकोमा गर्व महसुस भएको बताए।

मानवता प्रवद्र्धनका लागि सोमबार १९ गते विरगञ्जको आदर्शनगर रङ्गशालामा, मंसिर २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सङ्गीतमार्फत मानवता प्रवद्र्धनका लागि नेपथ्य लाइभ कार्यक्रम हुने कार्यक्रम तय भएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए।

त्यसैगरी पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ ।

कार्यक्रमले मानवसेवा आश्रममा आश्रितहरुका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि सहयोग पुग्ने कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए।

आश्रममा हाल एक हजार ६०० सडक आश्रित मानवहरु संरक्षित छन् । देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे मानिसहरु नरहने अबस्था सिर्जना गर्ने योजना रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !