१२ श्रावण २०८१, शनिबार

वर्षमान पुनको स्वास्थ्यमा सन्तोषजनक सुधारपछि आज स्वदेश फर्कँदै

प्रकाशित मिति :  20 December, 2022 9:53 am


फाइल फाेटाे

काठमाडौं । स्वास्थ्यमा समस्या देखिए पछि उपचारका सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कँदै छन् ।

स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि नेता पुन आज नेपाल फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको छ। चिकित्सकहरूको परामर्शमा उपचारका लागि उनी मंसिर १६ गते चीन गएका थिए। उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो ।

उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जानकारी दिएको छ।

चुनावी धपेडीले वंशाणुगत जण्डिस रोग बल्झिएपछि उपचारका लागि पुन चीन गएका थिए। पुनको पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले नेता पुनको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको जानकारी दिइन्।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरिर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता समस्या देखिएकोमा चीनमा उपचारपछि भने ती समस्या हटेको छ।

उपचारमा जानुअघि पुनको शरिरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो भने हाल १८ मा आएको छ। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ। यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !