८ बैशाख २०८१, शनिबार

रुपन्देहीको कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव ११ दिनपछि परिवारले बुझे

प्रकाशित मिति :  8 April, 2020 5:34 pm


रुपन्देही,२६ चैत ।

रुपन्देहीको बुटवलमा रहेको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्तिका आफन्तले शव बुझेका छन् ।

आइसोलेसन वार्डमा ११ दिन पहिले मृत्यु भएका पाल्पा रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको शव आज आफन्तले बुझेका छन् ।

पूर्वसभासद् विनोद पहाडी, पाल्पाली समाजका अध्यक्ष पदम कार्की, रिब्दीकोट समाजका समुन्द्र जीसी, मानवअधिकारकर्मी गोविन्द खनाल लगायतको पहलमा परिवारले शव बुझ्न सहमत भएका हुन् ।

कोरोना भाइरस संक्रमणको आशंकामा उपचार भइरहेका बेला थापाको मृत्यु भएको थियो । कोरोनाकै कारण मृत्यु भएको त्रास भएपछि मृत्यु भएको ११ दिनसम्म शव उठ्न सकेको थिएन ।

सामाजिक विकास मन्त्रालयमा दुबै पीडित पक्षलाई राखेर भएको छलफलमा मृतककी पत्नी रीता थापालाई उनी डेरामा बस्दै आएको रूपन्देहीको सैनामैना नगरपालिकाले योग्यताअनुसारको रोजगारी दिने, सामाजिक विकास मन्त्रालयले २ छोरालाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र विभिन्न संघसंस्थामार्फत सहयोग संकलन गरेर मृतककी श्रीमतीको नाममा ८ लाख ४० हजार रुपैयाँको राहत कोष स्थापना गरिदिने सहमति भएको छ ।

सहमतिपछि परिवारले शव बुझेका छन् ।



प्रतिक्रिया दिनुहोस !