१३ बैशाख २०८१, बिहिबार

आयोडिनयुक्त नुनको प्रवर्द्धन गर्न एक महिने ‘आयोडिन मन्थ’ सञ्चालन

प्रकाशित मिति :  1 February, 2023 5:53 pm


काठमाडौँ । हाल आयोडिनको कमीबाट उत्पन्न विभिन्न समस्यामध्ये देखिने गलगाँड ‘भिजिबल गोइटर’ समुदायमा नदेखिएको राष्ट्रिय उपभोक्त मंचका अध्यक्ष प्रमेलाल महर्जनले बताए । बुधबार काठमाडौँमा ‘नेपालमा नुन बजारको अवस्था र आयोडिन नुनको उपयोग’ सम्बन्धमा अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मर्हजनले पछिल्लो समय नेपालका दुर्गमदेखि सुगम ठाउँमा आयोडिन नुनको प्रयोग तिव्र रूपमा हुदाँ नेपाली जनताले यस्तो खालको समस्या भोग्नु नपरेको बताए । आयोडिनयुक्त नुनको थप प्रवद्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’मनाउने गरिँदै आएको छ ।

अध्यक्ष महर्जनले राष्ट्रिय उपभोक्ता मञ्चले इलामको पशुपति नगरमा जादाँ ‘भूमि नेपाल’ नामक कम्पनीले विभागबाट अनुग्य पत्र नलिई गुणस्तरहिन नुन नारायणगढबाट प्याकिङ गरेको पाइएपछि कम्पनीलाई मुद्दा हालेको बताएका छन् । उनले भने, “स्वस्थ्यको लागि अहित रहेको उक्त नुन १ किलोलाई २ सय ५० रुपैयाँकाे दरले बेचेको र केही व्यापारीहरुले स्वस्थ्यको लागि फाइदा हुन्छ भनेर गलत प्रचार प्रसार गरेर बेचेको पाइयो । मञ्चले त्यो कम्पनी विरुद्ध मुद्दा दायर गरेका छ ।’’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्य जोशीले विभागले बजारमा आएको आयोडिन युक्त नुनको मापदण्ड र प्रयोगशालाको निगरानी सशक्त ढङ्गले गर्दै आएको बताएकी छन् । नेपालको माटोमा आयोडिन निकै कम रहेको र नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले विगतमा मानिसहरूलाई रोग लागेको र अहिले आयोडिनको प्रयोग गर्दा त्यस्ता रोगबाट मानिसहरूले छुटकारा पाएको उनले बताइन् ।

नेपालमा औद्योगिक उत्पादनका लागि मात्रै नुनमा ५० पीपीएम आयोडिनको मात्रा अनिवार्य गरिएको छ । आयोडिन सजिलैसँग उडेर जाने भएकाले प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म पुर्‍याउँदा ३० पीपीएम हुने र घरको भान्सासम्म पुग्दा र पकाउँदा १५ पीपीएमसम्म पुग्ने अनुमान गरेर सरकारले त्यहीअनुसार मापदण्ड बनाएको जोशीको भनाइ छ ।

जोशीले मन्त्रालय तहबाट नै ओयोडिन सम्बन्धी प्रचार प्रसार हरेक गाउँघरदेखि विद्यालयसम्म गर्नुपर्ने बताएकी छन् । उनले भनिन्, “फेब्रुअरी महिनालाई आयोडिन मन्थको रूपमा मनाउँदा नेपालका दुर्गमदेखि सुगम ठाउँमा गएर जनचेतना मूलक कार्यक्रम गर्न आवश्यक रहेको छ । जसले गर्दा सुत्केरी महिलालाई समेत यसबारे ज्ञान हुने र आउने सन्तानको शारीरिक अवस्था पनि राम्रो हुनेछ ।’’

त्यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका कार्यकारी निर्देशक कुमारराज भण्डारीले पछिल्लो समय नेपालमा आयोडिन नुनकाे गुणस्तर उत्कृष्ट रहेको र नेपाल सरकारले पनि बजारमा यसको गुणस्तर निगरानीमा पहल गर्न आवश्यक रहेको बताए । उनले भने, “अतिआवश्यक वस्तुको रूपमा रहेको नुनलाई पछिल्लो समय सीमानाबाट अवैद्य रूपमा आयात भएको पाइएको छ । त्यसैले सरकारले यसको निगारानीमा थप जनशक्ति खटाएर काम गर्न आवश्यक छ ।’’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालीहरूले औसतमा प्रतिदिन ९.१ ग्राम नुनको खपत गरिरहेका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक वयस्क व्यक्तिले दैनिक ५ ग्राम नुन मात्र प्रयोग गर्नु उचित मानिन्छ। नुन बढी खानाले नसर्ने रोगको जोखिम बढिरहेको अध्ययनले औंल्याएको छ। नुन बढी प्रयोग हुँदा आयोडिनको मात्रा पनि बढी प्रयोग भएको पाइएको छ । उत्पादन स्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान रहेको छ । नेपालमा हाल आयोडिनयुक्त नुनको मापदण्डमा उत्पादन स्थलमा ५० पीपीएम नघटाई र बिक्री स्थलमा ३० पीपीएम नघटाई हुनुपर्ने व्यवस्था रहेको छ । साथै उपभोग बिन्दुमा नुनमा आयोडिनको मात्रा कम्तीमा १५ पीपीएम हुनुपर्ने भनिएको छ ।

शरीरमा आयोडिनको कमीले गर्भवती महिलालाई असर पर्छ । गर्भ तुहिने, मृत बच्चा जन्मने, अविकसित दिमाग भएको शिशु जन्मने, शारीरिक रूपमा विकलांग हुने लगायत सम्भावना हुन्छ । वयस्कहरूमा आयोडिनको कमी भएमा गलगाँड आउने, थाइराइड, मानसिक क्षमतामा कमी, शारीरिक क्षमतामा कमी जस्ता असर देखिन्छन् ।



प्रतिक्रिया दिनुहोस !