१३ बैशाख २०८१, बिहिबार

भोली र पर्सी काठमाण्डौं उपत्यका बाहिर जान दिने सरकारको निर्णय,लकडाउनमा फसेकालाई सहज

प्रकाशित मिति :  9 April, 2020 3:29 pm


काठमाडौं २७ चैत ।

सरकारले लकडाउनका कारण उपत्यकाभित्र समस्यामा परेकालाई भोली र पर्सी बाहिर जान दिने निर्णय गरेको छ ।

मानिसहरु पैदल हिडेरै काठमाण्डौं उपत्यका छोड्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले  भोली र पर्सी गाडी सञ्चालन गरेर काठमाण्डौं उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । उपत्यकाभित्र छिर्न भने पाईने छैन ।

११ चैतबाट सुरु भएको लकडाउनका कारण मानिसहरु हिडेरै घर जान थालेपछि गृहमन्त्रालयको तर्फबाट समितिमा प्रस्ताव गएको थियो ।

समितिका सदस्य तथा भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउनका कारण उपत्यकामा रोकिएर बस्‍न बाध्य सर्वसाधारणलाई घरसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने गाडी खुलाउने निर्णय भएको जानकारी दिए ।

उनले भने,‘ यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन्। बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन्।’

समितिले सवारी साधन यात्रु जहाँका लागि छुटेको हो सोही ठाउँ पुगेको पूर्जी स्थानीय निकायबाट लिने व्यवस्था गरिएको छ । सरकारले लकडाउनलाई वैशाख ३ सम्म निरन्तरता दिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म रोकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी हप्ताहरु थप चुनौतिपूर्ण हुने बताईसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !