७ बैशाख २०८१, शुक्रबार

चियाकरणः  एक समाजशास्त्रीय चिन्तन

प्रकाशित मिति :  3 March, 2023 6:19 am


चियाकरण नेपालको इतिहास हो, वर्तमान हो र भविस्यमा पनि रहीरहनेछ । चियासँग जोडिएका सामाजिक, साँस्कृतिक र अर्थराजनीतिक विषय भोलिका दिनमा पनि उत्तिकै महत्व राख्ने विषय हुन् ।

________ कृष्ण ज्ञवाली

चियाकरण (टीआइजेसन), चियाले निर्माण गरेको सामाजिक, आर्थिक तथा सांस्कृतिक कथावस्तु बोकेको एक सामाजिक क्रियाकलाप हो । एक प्रसिद्ध समाजशास्त्री जर्ज रिट्जरले म्याकडोनाल्डको बारेमा ‘ म्याकडोनाल्डाईजेस अफ् सोसाइटी’ भनेर अमेरिकामा समाजले अंगिकार गरेको फास्टफुड संस्कृतिको व्याख्या गरेका छन् । त्यसै अनुरूप यस लेखमा पनि उक्त कुराको अनुशरण गर्दै चियाकरणको बारेमा चियागफ गरिएको हाे । चिया पिउँदै, पढ्दै अनि बुझ्दै गर्नुहोला ।

समाजशास्त्रमा स्नातकोत्तर पढ्दै गर्दा मेरो आत्मीय मित्र विश्वास आचार्य र म काठमाडाैँ, नयाँबजारको चिया पसलमा भेट्थ्यौँ, पढ्थ्यौँ र घरमा पढेका कुरा छलफल गर्याैं । हाम्रो उदेश्य ज्ञान गुनका कुरा गर्ने, छलफल गर्ने अनि ती सबै कार्यमा भेट्ने ठाउँ हुन्थ्यो, नयाँबजारको चिया पसल । हामी घण्टौं बसेर गफ गरे पनि चिया पसले दिदीले कहिल्यै झर्को मान्नुभएन ।

एक प्रसिद्ध समाजशास्त्री जर्ज रिट्जरले म्याकडोनाल्डको बारेमा ‘ म्याकडोनाल्डाईजेस अफ् सोसाइटी’ भनेर अमेरिकामा समाजले अंगिकार गरेको फास्टफुड संस्कृतिको व्याख्या गरेका छन् । त्यसै अनुरूप यस लेखमा पनि उक्त कुराको अनुशरण गर्दै चियाकरणको बारेमा चियागफ गरिएको हाे ।

हामी एक-दुई कप चियामा घण्टौ कुरा गर्याैं । मेरा लागि त्यो दुई वर्ष ज्ञानको संसार बुझ्ने सुनौला वर्ष थिए । त्यो बेला जति कहिल्यै पढेको थिइन र अहिलेसम्म पनि पढेको छैन् । त्यहि ज्ञानले दिएको उर्जा अहिलेसम्म पनि ताजै छ । 

विश्वासजीको स्वभाव मैले भेटेका अन्य साथीको भन्दा अत्यन्तै फरक थियो । ज्ञानको सदा भोको । कुनै पनि कुरालाई फरक हिसावले नियाल्ने र आफूले बुझेको कुरा नलुकाई साथीलाई बाँड्ने । समाजलाई वैज्ञानिक ढंगले बुझ्नका लागि विभिन्न पुस्ताकलयहरू पुग्थ्यौँ । अमेरिकी दुतावासको लाइब्रेरी, केशर महल पुस्ताकलय, त्रिभुवन विश्वविद्यालय, सोसल साइन्स इत्यादी ।

हामी मार्टिन चौतारीमा पीएचडीधारी विदेशी प्रोफेसोरका कुरा सुन्न पुग्थ्यौँ । अनि फेरि त्यही चिया पसलमा गएर आफूले बुझेको कुरालाई पुनः मुल्याकंन गर्याैं । समाज, दर्शन, राजनीति, नाटक, अर्थ-व्यवस्था अनि समाजसेवा सबैतिरबाट समेटिएको त्यो ज्ञान आत्मसाथ गर्नलाई सघाउ पुर्याउने त्यो चिया अनि दिदीको चिया पसल अनि विश्वाशजीको साथ सदा अविस्मरणीय रहनेछ ।

नेपालमा आजसम्म गएका घरहरूमा एकैछिन बसियो भने ल म चिया बनाउछु बस्दै गर्नु है, ल चिया खाएर र पिएर जानुस न, कहाँ चिया पनि नखाई जान्छु भनेको ? छोरी तिमीलाई हेर्न आउनुभएको हो रे, ल चिया लिएर आउ त । राजनीतिक गफ गर्न चिया पसलमा भेटौं न । व्यापार सम्झौतादेखि बिवाह सम्झौता गरिदिने चियाले बोकेको संस्कृति तथा सामाजिक कार्यहरूलाई चियाकरणको चस्माले हेरिएन भने नेपाली समाजको समाजशास्त्रीय चिन्तन अधुरै रहन्छ । 

समाजशास्त्र भनेको समाजमा भएका, हुँदै गरेका र भविष्यमा हुन सक्ने सामाजिक क्रियाकलापको वैज्ञानिक ढंगले अध्ययन तथा अवलोकन गर्ने विज्ञान हो । यो विज्ञान यस अर्थमा हो की समाजशास्त्रमा रिसर्चमा प्रयोग हुने  मेथोडोलोजीहरू प्रयोग गरिएको हुन्छ । त्यसको बारेमा छलफल गर्दा विश्वासजी र मैले जन्माएका थियौँ यो चियाकरण शब्द । चियाकरणलाई करिब डेढ दशक पहिले चिया गफमा हामी आफै पार्टीसिपेन्ट अब्जरभेसन गरिरहेका थियौँ । 

व्यापार सम्झौतादेखि बिवाह सम्झौता गरिदिने चियाले बोकेको संस्कृति तथा सामाजिक कार्यहरूलाई चियाकरणको चस्माले हेरिएन भने नेपाली समाजको समाजशास्त्रीय चिन्तन अधुरै रहन्छ । 

चियाकरणले नेपाली समाजलाई एकाताबद्ध गर्न पनि सघाउ पुर्याएको छ । चिया पनि खान नमान्नुलाई आदर अस्वीकार गर्नु हो भन्ने बुझाइ पनि छ  । ल साथी हो चिया खाँदै गफ गरौँन त भन्ने भाव भनेको एकछिन समय निकालेर साथ रहने वहाना पनि हो । 

चियामा दुध हालेको, नहालेको, चिनी कम, मरिच हालेको, चिया मसला हालेको इत्यादी भए जस्तै सामाजिक विविधतामाथि वैज्ञानिक विश्लेषण गर्न दिने त्यो चिया पसलकी दिदी अनि आत्मीय मित्र विश्वास जीप्रति हार्दिक आभार । चियाकरण नेपालको इतिहास हो, वर्तमान हो र भविस्यमा पनि रहीरहनेछ । चियासँग जोडिएका सामाजिक, साँस्कृतिक र अर्थराजनीतिक विषय भोलिका दिनमा पनि उत्तिकै महत्व राख्ने विषय हुन् ।



प्रतिक्रिया दिनुहोस !