२३ बैशाख २०८१, आइतबार

हाेलीमा राष्ट्रपतिदेखि प्रदेशप्रमुखसम्मकाे शुभकामना, कसले के भने? 

प्रकाशित मिति :  6 March, 2023 8:32 am


काठमाडाैँ । रंगहरूकाे पर्व हाेलीकाे अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेश प्रमुख तथा प्रमुख राजनीतिक दलका प्रमुख लगायतले शुभकामना व्यक्त गरेका छन् । ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् ।

“नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो”, शुभकामना सन्देशमा भनिएको छ, “तसर्थ, फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास मैले लिएको छु ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले होली पर्व (फागुन पूर्णिमा)का अवसरमा शुभकामना व्यक्त गर्दै मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने जनाएका छन्।

विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्नसमेत अभिप्रेरित गर्ने सन्देशमा छ । “नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।” सन्देशमा भनिएकाे छ । 

सभामुख देवराज घिमिरेले होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् । 

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरकफरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको उनकाे भनाइ छ । 

“यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास लिएको छु,” सन्देशमा भनिएकाे छ, “परम्परागत चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो, तर चाडबाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नै पर्दछ ।”

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देशमार्फत होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै सभापति देउवाले सबैमा शुभकामना व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोरन्ल (फागु पूर्णिमा) पर्बको शुभकामना व्यक्त गरेका छन् । ‘‘पितृहरुको सम्झनामा श्रद्धा र सम्मान अर्पण गर्ने थकालीहरुको महान चाड- तोरन्लको अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण थकाली दाजुभाइ तथा  दिदिबहिनीहरुमा तोरन्ल (फागु पूर्णिमा) पर्बको हार्दिक शुभकामना ।’’ ओलीले फेसबुकमार्फत् भनेका छन्।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताएका छन् । पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्दै उनले शुभकामना व्यक्त गरेका हुन्।

“यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको छ । सम्पूर्ण नेपालीबीच आपसी  प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान पु-याउने विश्वास मैले लिएको छु ।” गुरूङकाे शुभकामना सन्देशमा भनिएकाे छ।

यसैगरी अन्य प्रदेशका प्रमुख, अध्यक्ष, दलका नेताहरूसमेतले शुभकामना सन्देश व्यक्त गरेका छन् । 



प्रतिक्रिया दिनुहोस !