१२ श्रावण २०८१, शनिबार

विवाहमा १० जना र अन्तिम संस्कारमा २५ जना मात्रै सहभागि हुन पाइने

प्रकाशित मिति :  12 April, 2020 6:54 pm


रुकुम पूर्व, ३० चैत ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिकाले विवाहमा १० जना र अन्तिम संस्कारमा २५ जना मात्रै सहभागि हुन पाइने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै गाँउपालिकाले कोरोना महामारीको संकट समाप्त निहुँदासम्म निर्णय कार्यान्वयन हुँने जनाएको छ ।

गाँउपालिकाको निर्णयमा विवाह वा अन्तिम संस्कारमा बाजा बजाउन नपाईने गास बुझाउने रीतिरिवाज भएकाले एक जनाले संकलन गरि सम्बन्धित घरमा बुझाईदिनुपर्ने उल्लेख छ ।

गाँउपालिकाले ‘महामारी समाप्त नहुन्जेलसम्मका लागि मेलाहरु संचालन गर्न नपाइने, नगरिनहुने रीतिरिवाजहरुको हकमा सामान्य प्रकृया पूरा गरी सम्पन्न गर्नुपर्ने, जुवातास लुडो क्यारम आदिलाई पूर्ण रुपमा प्रतिवन्ध लगाउने’भनेको छ ।

गाँउपालिकाको बैठकले खाद्य सामग्री र औषधीसम्बन्धी सामग्री ढुवानी गरी यस गाउँपालिकामा आउने गाडीको आवागमनलाई सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।

गाँउपालिकाले रुकुम पूर्व जिल्ला भित्र आउजाउ गरेका व्यक्तिले अनिवार्य रुपमा प्रत्येक दिन स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गर्नुपर्ने, अन्य जिल्लाबाट आउनेको हकमा अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने र कोरोनाको जोखिम रहेका जिल्लाबाट तथा विदेशबाट आउने व्यक्तिले अनिवार्य रुपमा गाउँपालिकाले तोकेको क्वारेन्टाइन होममा बस्नुपर्ने बताएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा घुस्तुङ, ताँतु, रिका, जामाबगर र सिर्सिरेधारा नाका मात्र प्रयोग गर्न पाइने र अवज्ञा गरी अन्य नाकाबाट भित्रिने व्यक्तिलाई कडा कारवाही गर्ने निर्णय समेत गरेको छ ।

गाँउपालिकाले सबै संघ संस्था तथा व्यक्तिहरुलाई कोरोनाभाइरस विरुद्धको लडाइँमा गाउँपालिकाको सिद्धार्थ बैंक कोल शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नं ०१४१५२३२०४३ मा सहयोग रकम जम्मा गरिदिन अपील समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !