१५ चैत्र २०८०, बिहिबार

क्रिकेटका राष्ट्रिय खेलाडी मल्ललाई बुटवल उपमहानगरपालिकाकाे सम्मान

प्रकाशित मिति :  20 March, 2023 5:55 pm


बुटवल। नेपाली राष्ट्रिय क्रिकेट टाेलीका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेकाे छ। मल्ल बुटवल उपमहानगरपालिका वडा नं. ११ का बासिन्दा हुन् ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर एक कार्यक्रमकाबिच सामूहिक रूपमा सम्मान गरेका हुन् । उनलाई सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गरेका गरिएकाे हाे ।

नगरप्रमुख खेलराज पाण्डेयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए।

उनले आगामी दिनमा अरु प्रगति गर्दै नेपाली राष्ट्रिय क्रिकेट टीमको क्याप्टेन बन्ने गरी मेहनत गर्न शुभकामना दिदै बुटवलले हरेक हिसाबले साथ दिने बताए।

नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।

उनले बुटवलमा राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्नका लागि आवश्यक पूर्वाधार निर्माण र मर्मतसम्भार तथा संरक्षणमा बुटवलले निरन्तर काम गर्दै आएको बताए।

खेल क्षेत्रमा जनशक्ति उत्पादन र प्रोत्साहनका लागि बुटवल उपमहानगरपालिका सधै अगाडि रहेकाे चर्चा गर्दै पाण्डेयले क्रिकेट खेलमैदान बनाउनका लागि प्रयासरत रहेको र छिटै नै बुटवलमा सुविधासम्पन्न खेलमैदान बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो। क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले महानगरले खेल क्षेत्रको हौसला बढाएको बताए।

खेलाडी कुशल मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए।



प्रतिक्रिया दिनुहोस !