४ बैशाख २०८१, मंगलबार

मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको अधिकार तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यशाला गोष्ठी सुरु

प्रकाशित मिति :  24 March, 2023 3:34 pm


काठमाडौं । मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको अधिकार तथा क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने कार्यशाला गोष्ठी राजधानीमा सुरु भएको छ ।

मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजना तथा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा आयोजना गरिएको कार्यशाला गोष्ठिमा ७ वटै प्रदेशमा रही मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि स्थापित संघ सस्थाका प्रतिनिधिहरु सहित अन्य मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको पनि सहभागिता रहेको जनाइएको छ ।

मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषि राम ढकालले देशभरी रहेका मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुका समस्याहरु एकीकृत रुपमा समेटी कार्याशालाबाट आउने निष्कर्षलाई राज्यका निकायसम्म पुर्याउने बताएका छन् ।

उनले भने, मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुका समस्या गम्भीर र सम्बेदन्शील रहेका कारण देशभरी रहेका मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुका समस्याहरु एकीकृत रुपमा समेटी कार्याशालाबाट आउने निष्कर्षलाई राज्यका निकायसम्म पुर्याउने जसले आगामी दिनमा बन्ने ऐन कानुन तथा नीति कार्यक्रममा उक्त सवालहरु समेट्न सहयोग होस भन्ने उदेश्यले कार्यशाला आयोजना गरिएको हो।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषि राम ढकालको अध्यक्षतामा उद्घाटन भएको सो ३ दिने कार्यशालामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य र स्पाइनल इन्जुरी संघ नेपालाका सस्थापक अध्यक्ष कनकमणि दीक्षितकोको बिशेष आतिथ्यता रहनुका साथै अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले गोकर्णेश्वर नगरपालिकाकाबाट अपाङ्गता भएका व्यक्तिहरु र त्यसमा पनि मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको सवालमा गरिएका कार्यहरुको संक्षिप्त जानकारी दिँदै कार्यशालाले मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको सवालमा महत्त्वपूर्ण निष्कर्ष निस्कने विश्वास लिएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुका समस्याहरु अन्य शारीरिक अपाङ्गता भन्दा गम्भीर रहेका कारण उनीहरुलाई अपाङ्गताको छुट्टै वर्गमा समावेश गर्ने कुरामा महासंघ सकारात्मक रहेको र आवश्यक वकालत एवं पैरवीका लागि मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुसँगै रहेको प्रतिबद्दता व्यक्त गरे ।

कार्यशालामा सहभागी मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुले आफ्ना हक अधिकार कागजमा मात्रै सिमित भएको कारण यथासक्य कार्यान्वयनका लागि राज्यसँग आग्रह गरेका थिए ।

मेरुदण्डीय पक्षघात समूह नेपालका महासचिव केशव थापाका अनुसार कार्यशालाको दोस्रो र तेस्रो दिन अर्थात चैत्र १० र ११ गतेको गोष्ठि सुन्दर ढोका साथी सेवामा संचालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !