४ जेष्ठ २०८१, शुक्रबार

म सानो कलाकार हो, ठूलो बन्ने रहर छैनः केदार घिमिरे

प्रकाशित मिति :  13 April, 2023 5:34 pm


काठमाडाैँ । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । बुधबार काठमाडौँमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो ।

अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर रहेको बताए। उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरूको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिबद्धता जनाए । उनले कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढीरहेपनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताए ।

उनले भने, “यो मैले वर्ष अभिनेता भनेर अवार्ड पाएको छु, त्यसका लागि अत्यन्त खुशी लागेको छ । दर्शकहरूमा यो म समर्पण गर्न चाहन्छु । दर्शकको माया र आशिर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ । म सानै कलाकार हो, र म सधैँ सानै भएर बाच्न चाहन्छु, तपाईहरूको माया सधैँ रहीरहोस् ।” म मा घमण्ड कहिल्यै पनि नपलाओस् । कोरोना आउन लागेको छ, त्यसलाई हामी जित्नेछौँ । आर्थिक मन्दी आउँदैछ भन्छन्, त्यसलाई पनि हामी जित्नेछौँ । त्यसका लागि हामीले आत्मबल बलियो बनाउनु पर्छ ।”

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद् रहेको बताए । उनले २०७९ मा १० वटा चलचित्रहरूले मुनाफा कमाउनु खुशीको कुरा रहेको बताएका छन् ।

अध्यक्ष खड्काले वर्ष २०७९ मा २० प्रतिशत ठूला पर्दाका चलचित्रले लगानी उठाएको स्पष्ट पारेका थिए ।



प्रतिक्रिया दिनुहोस !