२१ बैशाख २०८१, शुक्रबार

‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने सरकारको तयारी

प्रकाशित मिति :  2 May, 2023 2:13 pm


काठमाडाैँ । सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा। मतिना जोशी बैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताएकी हुन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गईरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारेकी छन् ।

महानिर्देशक बैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् ।

उनले भनिन्, “केही सस्तो र मिठो खाजाको रुपमा चाँही स्ट्रिट फुडहरू एउटा राम्रो अल्टरनेटिभ हो । सबै जनाले फाईन डाईनिङ मात्रै गर्न सक्दैन । त्यसकारणले त्यो स्ट्रिट फुड चाहीँ फुड प्वाईजनिङ हुनुभएन । यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । हामीले केही अगाडि देखि नै विभागबाट पनि यसको एउटा कार्यविधि बनाऊ । र, कार्यविधिमा अहिले हामीले तुरुन्तै गर्नसक्ने एउटा कुरा चाहीँ टडकारो रुपमा देखिएको र खड्केको कुरा चाहीँ जुन न्युज पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ । त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ ।”

वैद्यले नागरिकलाई सेचत गराउने र क्रमशः यसलाई प्रतिबन्ध लगाएर खाद्य ऐन बमोजिम यस्तो हानिकारक चिजहरूलाई प्रतिबन्ध लगाउने बाटाेमा लागेकाे बताइन् ।

खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तिव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।  



प्रतिक्रिया दिनुहोस !