७ बैशाख २०८१, शुक्रबार

माैलाकाली केवलकारः २ घण्टाकाे बाटाे ५ मिनेटमै, स्थानीयमा खुसी

प्रकाशित मिति :  6 May, 2023 1:21 pm


काडमाडाैँ । नवलपरासीको गैंडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै स्थानीयहरु हर्षित भएका छन् ।
गत वैशाख १ गतेदेखि मौलाकाली केवलकार सञ्चालनमा आएसँगै गैडाकोट नगरपालिका वडा १ का स्थानीयहरु मौलाकालीका मन्दिरको धार्मिक महत्व बढ्ने र स्थानीय स्तरमा रोजगारी बढ्ने भन्दै हर्षित भएका हुन् ।

स्थानीयहरुले २ घण्टा हिँडेर जानुपर्ने मौलाकाली मन्दिरमा ५ मिनेटमा पुग्ने केवलकार बन्ने अपेक्षा नभएपनि अहिले आएर साकार हुँदा खुशी लागेको बताए । उनीहरुले केवलकार सञ्चालनमा आउँदा खुशी भएपनि केवलकार व्यवस्थापनले भाडादर कम गर्नुपर्ने बताए ।

मन्दिरको बेसमा विगत २५ वर्षदेखि सामान्य टहरोमा पूजा सामाग्री व्यापार गर्ने व्यापारीहरुले टहरा व्यवस्थापन गर्दा व्यापार बन्द नहुने गरी वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए । मौलाकाली मन्दिर परिसरमा व्यापार गर्ने स्थानीय व्यापारी सुलभ कुमालले मौलाकाली केवलकार सञ्चालनमा आएसँगै पूजा सामग्रीमा व्यापारमा वृद्धि भएको बताए।

उनले पूजा सामग्रीमा व्यापार बढे पनि होटलमा भने व्यापार कम भएको छ। केवकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने वृद्धवृद्धाहरुलाई समेत सहज भएको उनकाे भनाइ छ । उनले विगत लामो समयदेखि व्यापार गरिरहेकाले मन्दिर परिसरमा नै व्यवस्थित तरिकाले व्यवसाय गर्न पाउनुपर्ने बताए।

स्थानीय विनिता महतोले मौलाकालीका केवलकार सञ्चालनमा आएसँगै खुशी र दुःखी दुवै भएको बताइन् । उनले केवलकार सञ्चालनमा आएसँगै विगत लोमो समयदेखि गर्दै आएको ठाउँ व्यवस्थित हुनुपर्ने धारणा राखिन् । उनले मन्दिर परिसरका पसलहरु हटाउने कुराले दुःख लागेको प्रतिक्रिया दिइन् । २० वर्षदेखि जीविको पार्जनको माध्यम पसलहरु भएको भन्दै उचित व्यवस्थापनसहित हटाउनुपर्ने धारणा उनकाे छ।

स्थानीय टीकाराम चापागाईंले केवलकारमा मौलाकाली मन्दिर जान पाइन्छ भन्ने आश नरहनेपनि अहिले केवलकार चढेर मन्दिर जान पाउँदा खुशी लागेको बताए। उनले गैडाकोटको जङ्गलमा केवलकारको विकास हुँदा अचम्म लागेको बताए। ८० वर्षको उमेरमा घरमा नै खुम्चिएर बस्नु भन्दा केवलकार चढेर मन्दिर दर्शन गर्न पाउँदा खुशी भएको सुनाए।

स्थानीय गंगाधर सापकोटाले गैडाकोटमा केवलकार बन्द यहाँका स्थानीयहरु सबै खुशी रहेको बताए। उलने केवलकार बनेसँगै पसल, जग्गा जमिनको समेत मूल्य बढेको बताए। उनले केवलकार चढ्न सवारी साधन लिएर आउनेहरुको लागि पार्किङ शुल्क तिर्नु पर्ने भन्दै केवलकार आफैँले बनाई दिनुपर्ने सुझाए।

सापकाेटाले मौलाकाली केवलकारको दूरी छोटो दर भाडादर महँगो भएको गुनासो आएको भन्दै मिलेसम्म कम गर्नुपर्ने बताउनु बताए । स्थानीय अटो व्यवसायी समिर परियारले केवलकार सञ्चालनमा आएसँगै अटो सञ्चालनमा सहज भएको बताए। उनले केवलकार सञ्चालन हुनुभन्दा पहिला अटोमा कमाई थोरै रहेकाे तर अहिले दैनिक २ हजारसम्म बचाउन सकिएकोमा खुसी व्यक्त गरे।

मौलाकाली केवलकारको गत १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । उद्घाटन भन्दा पहिला गत वैशाख १ गतेदेखि सञ्चालनमा छ । केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटक वृद्धि हुने अपेक्षा स्थानीयहरुको रहेको छ ।



प्रतिक्रिया दिनुहोस !