१३ बैशाख २०८१, बिहिबार

११ औं कान्तिपुर हाफ म्याराथन जेठ ६ मा हुने

प्रकाशित मिति :  11 May, 2023 6:49 am


काठमाडाैँ । ११ औं संस्करणको कान्तिपुर हाफ म्याराथन आउँदो जेठ ६ गते हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सले बुधवार पत्रकार सम्मेलन गरेर हाफ म्याराथनको मिति सार्वजनिक गरेको हो ।

‘लेट्स गो ग्रिन टुगेदर’ मुख्य नारा रहेको म्याराथनमा पहिलो पटक कलेज रन विधा पनि थपिएको पत्रकार सम्मेलनमा पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी दिए । ७ किलोमिटर दूरीमा हुने यस विधामा १८ वर्षमाथिका विद्यार्थीले सहभागिता लिन पाउनेछन् ।

यसबाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमि) र ह्विलचेयर (३ किमि) गरी अन्य विधा यथावत नै रहेको स्वाँरले बताए। हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुने खेलाडीले ५ हजार रुपैयाँ पाउने छन् ।

शारीरिक रूपमा फरक क्षमता हुने ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार पाउनेछन् । कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् । कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स अस्पतालको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।  

सबै विधामा गरी ३ हजारभन्दा बढीले भाग लिने आयोजकको अपेक्षा रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । खेलाडी दर्ताका लागि जेठ १ गतेसम्म समयसीमा रहेको र खेलाडी दर्ता निःशुल्क रहेको जनाइएको छ ।

कान्तिपुरको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन माईतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्कमै आएर दौड टुंगिनेछ ।

प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक रहेको प्रतिस्पर्धामा कर्पोरेट, कलेज रन र ह्विलचेयर रन पनि सेन्ट्रल बिजेनस पार्कबाट शुरु हुनेछ । कर्पोरेट सिभिल हस्पिटल अगाडिबाट फन्को लगाएर सेन्ट्रल बिजनेस पार्कमा आएर टुंगिने छ । ह्विलचेयर रेस माइतीघर मण्डला फन्को लगाएर आउनेछ । कलेज रन तीनकुनेबाट फन्को लगाएर सोही रुटबाट फर्कने एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले बताए ।

गत वर्ष पुरुषमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र महिलामा नेपाल पुलिस क्लवकी राजपुरा पछाईं विजेता भएका थिए । नवौं संस्करणमा माल्दिभ्सका दुई खेलाडी पनि सहभागी भएका थिए । महिलातर्फ यसअघि आफूले भाग लिएको आठमध्ये ५ संस्करणमा कान्छीमाया कोजूले उपाधि जितेकी छन् । पुरुषतर्फ हरिकुमार रिमालले चार पटक उपाधि जितिसकेका छन् । 



प्रतिक्रिया दिनुहोस !