१७ बैशाख २०८१, सोमबार
करको फन्दामा कोकाकोला

कोकाकोलाले तिर्‍यो- रु १ अर्ब ३६ करोड थप निर्धारित कर, सुटुक्कै फेरिए अध्यक्ष

प्रकाशित मिति :  21 June, 2023 1:52 pm


काठमाडौं । विगत तीन दशकदेखि नै पाँच पटकसम्म स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकरसहित अग्रिम आयकर र अन्य कर छली गर्दै आएको कोकाकोलाले अन्ततः ठूला करदाता कार्यालयले निर्धारण गरेको ५ अर्ब ४२ करोड ४८ लाख रुपैयाँमध्ये १ अर्ब ३६ करोड रुपैयाँ तिरेको छ ।

यद्यपि यो कर भने पछिल्लो पटक स्वामित्व किनबेच भएको आर्थिक वर्ष २०७१/७२ पछिका तीन आर्थिक वर्षको मात्र पूर्ण कर अडिटपछि निर्धारण भएको रकम हो ।

यसबाहेक स्वामित्व किनबेच भएको वर्षयता कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेड र उसको सह-स्वामित्वका बोटलर्स नेपाल तराई लिमिटेड तथा ट्रोयका ट्रेडर्सको अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट)सहितका करहरूको पूर्ण मूल्यांकन हुन बाँकी नै छ ।

राजस्व अनुसन्धान विभागले २०७७ मंसिर २३ गते बोटलर्स नेपाल लिमिटेडको बालाजुस्थित कार्यालयमा छापा मारेर कोकाकोलाको स्वामित्व किनबेचसम्बन्धी छानबिन आरम्भ गरेको थियो ।

करिब एक वर्ष लामो अनुसन्धानपछि विभागले २०७८ फागुन २८ गते उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड रुपैयाँमा बिगो मागदाबीसहित राजस्व छलीको मुद्दा दायर गरेको थियो । एक वर्षभन्दा लामो समयदेखि अदालतमा यो मुद्दालाई ‘विचाराधीन’ राखिएको छ ।

विभागले मुद्दा दायर गरेसँगै २०७८ चैत २५ गते आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयलाई बोटलर्स नेपाल लिमिटेडको स्वामित्व परिवर्तन हुनुभन्दा अघि र पछिको अवधिको छुट्टाछुट्टै आय वर्षको रुपमा आयको गणना गरी कर निर्धारण गर्न भन्दै पत्राचार गरेको थियो ।

राजस्व अनुसन्धानको पत्रपछि ठूला करदाता कार्यालयले एक वर्ष लगाएर गरेको कर मूल्यांकनपछि रू ६ अर्ब ५६ करोड १३ लाख रूपैयाँ नयाँ कर निर्धारण गरेको छ, जसमध्ये १ अर्ब रुपैयाँ यसअघि बुझाइ सकेको करलाई समायोजन गरि ५ अर्ब ४२ करोड रुपैयाँ कर बुझाउनु पर्ने ठहर गरिएको छ ।

“कोकाकोलाले नगदै १ अर्ब ३६ करोड रुपैयाँ बुझाएको छ, आयकर ऐनअनुसार विभागले निर्धारण गरेको करमाथि चित्त नबुझे पुनरावेदनमा जान सकिने व्यवस्थाअनुसार उसले निर्धारित करको एक चौथाइ बुझाएको देखिन्छ,” आन्तरिक राजस्व कार्यालय स्रोतले भन्यो ।

बोटलर्स नेपाल लिमिटेड (आजकल कोकाकोला नेपाल भन्न थालिएको) पूरै कर तिर्ने मनसायका साथ बैंक ग्यारेन्टी लिन स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ऋण जमानी लिने प्रक्रिया थालेकोमा नगदै बुझाएको हो । “कुन स्रोतबाट उसले कर बुझाएको हो, त्यो पनि हामी बुझ्दैछौं,” विभाग स्रोत भन्छ ।

कोकाकोलाले आयकर ऐनको दफा १०१ बमोजिम निर्धारित करमा चित्त नबुझेमा सोही ऐनको दफा ११५ अनुसार आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावेदन दिने तयारी गरे पनि अन्तर्राष्ट्रिय मध्यतता निकायबाट एनसेल प्रकरणमा आएको फैसलापछि विभागले दफा ५७ अनुसारसमेत थप कर निर्धारणको तयारी गरेको छ ।

“हामी कानुनमन्त्रालयसँग समन्वय गरेर एनसेलको निर्णयको पूर्ण पाठ अध्ययन गर्दैछौं । समान प्रकृतिको स्वामित्व किनबेच र शेयर हस्तान्तरण भएकाले अब कोकाकोलामाथि थप कर निर्धारण हुनसक्छ ” विभाग स्रोतले भन्यो ।

बोटलर्स तराईको कर मूल्यांकन बाँकी नै
राजस्व अनुसन्धान विभागले आन्तरिक राजस्व विभागलाई बोटलर्स नेपाल लिमिटेडको ९० प्रतिशत सेयर स्वामित्व रही मुख्य बोटलिङ प्लान्टका रुपमा रहेको बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखिकै आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि करको पूर्ण अडिट बाँकी छ ।

बोटलर्स काठमाडौंलाई सानो युनिटका रुपमा राखेर कोकाकोला कम्पनीको लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुप र २०६२ देखि २०७२ सम्म स्वामित्वमा लिएको दक्षिण अफ्रिकाको गुत्से परिवारले बोटलर्स तराईमै मुख्य लगानी र कारोबार गर्दै आएको देखिन्छ ।

पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता रहेको बोटलर्स नेपाल अन्तर्गत अहिले नेपालमा तीन वटा कम्पनी बोटलर्स नेपाल, बोटलर्स नेपाल तराई लिमिटेड र ट्रोइका ट्रेडर्स प्रालि दर्ता भइ कारोबार गर्दै आएका छन् । 

“बोटलर्स नेपाल लिमिटेडको पूर्ण कर मूल्यांकन एक हिसाबले टुंगिएको छ, अब बोटलर्स तराई र ट्रोयका ट्रेडर्सको फायल निकाल्दै छौं,” विभाग स्रोत भन्छ ।

सुटुक्कै फेरियो, कम्पनीका अध्यक्ष

राजस्व छली प्रकरणमा राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि नेपालबाट फरार भएकी बोटलर्स नेपाल लिमिटेडकी अध्यक्ष सुक्ला वासनलाई हटाइ कम्पनीले सुटुक्कै नर्मदेश्वरनारायण सिंह (एनएन सिंह)लाई कम्पनीको अध्यक्ष बनाएको छ । सन् १९९९ पहिलो पटक नेपाली सञ्चालकलाई कम्पनीको अध्यक्ष बनाइएको हो ।

तत्कालीन राजदरबारका सदस्यहरूको मुख्य सेयर स्वामित्व रहेका बेला लामो समयसम्म दरबारका तर्फबाट स्व. सहदेवशमशेर राणा बोटलर्स नेपालको नेतृत्वमा थिए । सन् १९९९ मा दरबारको अधिकांश शेयर स्वामित्व सिंगापुरको एफएनएनलाई बेचिएयता प्रायः हिन्दुस्तान कोकाकोला नै नै कम्पनीका अध्यक्ष लगायत मुख्य सञ्चालकहरू नियुक्त गर्दै आएको थियो ।

सन् २००८ मा कोकाकोलामा खेतान समूहले विजय धारिवालसहितकाे २२ प्रतिशत शेयर किनेपछि सुरुमा सोही समूहको म्युचुअल ट्रेडिङ र हाल गोरखा ब्रुअरीका तर्फबाट एक जना सञ्चालक नियुक्त हुँदै आएका छन् ।

स्मरणीय के छ भने एनएन सिंह नेपालमा कोकाकोला भित्र्याउने मुख्य व्यापारीमध्येका एक हुन् । नेपालमा २०३५ सालमा नकुल डी. कमानीले लगानी गरेर कोकाकोलाको बोटलिङ सुरु गर्नुपूर्व सिंहले वीरगन्जमा कोकाकोला ल्याइ त्यसको डिलरका रुपमा काम गर्दै आएका थिए ।

पछिल्लो समयमा सिंह सर्वसाधारण लगानीकर्ताका तर्फबाट कोकाकोलाको सञ्चालक रहँदै आएका छन् ।

द कोकाकोला कम्पनीको लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुपले एनएनसिंह बाहेक थप तीन जना सञ्चालक पनि परिवर्तन गरेको छ ।

कम्पनीका अनुसार सुक्ला वासन, मोहम्मद अमिन गोनिम र मेल्भिन ट्यान चुनका ठाउँमा लुकास ज्याप्लेटल, सुनैना विजयकुमार धानुका र मोहित विनोदकुमार बुधवारलाई नयाँ सञ्चालक नियुक्त गरिएको हो ।

सुक्ला वासन, मोहम्मद अमिन गोनिम र मेल्भिन ट्यान चुन तीनै जनालाई अभियुक्त बनाइ राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । उनीहरू मुद्दा परेको एक वर्ष नेपाल आएका छैनन् ।

नेपालमा हुने बोर्ड मिटिङ र कम्पनीको साधारण सभामा भारतबाट भिडियो कन्फ्रेसबाट सहभागी हुने गर्थे । पछिल्ला दुई वर्षका केही बोर्ड मिटिङ भर्चुअल गरिदै आएकोमा केही बोर्ड मिटिङ दिल्लीमै गरिएपछि नेपालको कानुन विपरीत भएको भन्दै नेपाली सञ्चालकहरूले आपत्ती समेत जनाउँदै आएका थिए ।

उल्लेखनीय कुरा के छ भने कागजी रुपमा बोटलर्स नेपालको स्वामित्व युरोपियन रिफ्रेसमेन्ट, आयरल्यान्डको स्वामित्व देखाइए पनि हालसालै द कोकाकोला कम्पनी, एटलान्टाको लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुपले आफ्नो स्वामित्वका बोटलिङ प्लान्टहरूमध्ये उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै बोटलर्स नेपाललाई दुबइमा पुरस्कृत गरेको थियो ।

दुबईबाट पुरस्कार लिएर आएपछि बोटलर्सका व्यवस्थापकहरूले नेपाली कर्मचारीहरूसँग तारे होटलमा खुसीयाली पार्टीकै आयोजना गरेका थिए ।

एनसेलका महाप्रबन्धककै शैलीमा भागे पाण्डे

यसअघि पुँजीगत लाभकर निर्धारणसम्बन्धि कर छली अनुसन्धानमा ठूला करदाता कार्यालयले एनसेल सीईओ इरिम कामुरामलाई कार्यालयमा उपस्थित गराउन चिठी लेखेपछि भैरहवाबाट भारततिर भागेकै शैलीमा बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डे पनि सोही रुटबाट भारत भागेका थिए ।

राजस्व अनुसन्धान विभागले अदालतमा राजस्व छली मुद्दा दायर गरेपछि लामो समयसम्म भारतको दिल्लीमै बसेर कार्यालय सञ्चालन गर्दै आएका पाण्डे नेपाल आउन नमिलेपछि उतैबाट श्रीलंका सरुवा गरिएको छ ।

नेपालबाट कम्पनीका वित्त निर्देशक अशोक मण्डल, मानव संशाधन प्रमुख हरि न्यौपाने, कानुन प्रमुख डिल्ली श्रेष्ठ, कम्पनी सचिव प्रतीमा बर्मा दिल्ली नै गइ कागजपत्रमा हस्ताक्षर गराएर ल्याउँथे । प्रमुख वित्त निर्देशक राजीव टन्डन अझै दिल्लीमै छन् ।

पाण्डेको ठाउँमा श्रीलंकाकै दिपक सेन्थिललाई प्रबन्ध निर्देशक बनाइको छ ।



प्रतिक्रिया दिनुहोस !