१२ श्रावण २०८१, शनिबार

नेपालमा पाँच वर्षमुनिका चारमध्ये एक जनामा पुड्कोपना

प्रकाशित मिति :  16 August, 2023 4:57 pm


काठमाडौँ । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो ।

विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्याङ्क अनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए ।

नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताए ।

थापाले भने, ‘सन् २०१६ को नेपाल स्वास्थ्य जनसांख्यिक सर्भेको तुलनामा अहिले सन् २०२२ मा पुड्कोपनामा सुधार भएको देखिन्छ । सन् २०१६ मा ३६ प्रतिशत थियो भने अहिले घटेर २५ प्रतिशतमा आएको छ । पाँच वर्षमुनिका प्रत्येक एक सय जना बालबालिका मध्ये अहिले २५ जनामा अर्थात प्रत्येक चार जनामध्ये एक जना बालबालीकामा पुड्कोपना छ ।’

उनले पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा सुधार ल्याउनुपर्ने बताए । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुपर्ने बताए ।

पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाई, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताए ।

लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षा पनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरुमा पुड्कोपना रहेको बताए ।

उनले भने, ‘बच्चा जन्मिसकेपछि बच्चाको उमेर अनुसारको बच्चालाई खानेकुराको आवश्यकता पर्छ । उमेर अनुसारको खानेकुरा आवश्यकता पर्ने हुँदा त्यो खानेकुराहरु बच्चालाई तीन पटक, चार पटक, चार पटक जति खानुपर्ने हुन्छ । बच्चाले खानुपर्ने समयमा खान पाएन, पाएपनि जति मात्रामा चाहिने हो, त्यो मात्रामा लामो समयसम्म खान पाएन भने वा पर्याप्त मात्रामा खानेकुरा पुगेन भने पुड्कोपनाको विकास हुन्छ ।’

उनले सरकारले पुड्कोपना न्युनिकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि २ बर्षमुनिका वच्चा, गर्भवती र ४५ दिनसम्मका सुत्केरीलाई ‘फर्टिफाईड फ्लोर’ वितरण गर्दै आएको बताए ।

त्यसैगरी पोषणविद् विनिता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताए । उनले गर्भास्थामा आमालाई र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने बताइन् ।

उनले बच्चालाई पर्याप्त मात्रामा पौष्टिक तत्व पुग्नुपर्ने बताइन् । पन्तले स्थानीयस्तरमा जनप्रतिनिधिले समेत पोषण व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । बच्चालार्ई पौष्टिक तत्व पर्याप्त दिनुपर्ने भन्दै घरपरिवारको आमा, बुबामा पुड्कोपना छ भने उनीबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिन सक्ने बताइन्।

पोषणविद पन्तले भनिन्, ‘पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिनसक्छ । त्यसका लागि मातृ पोषण कार्यक्रम आवश्यक हुन्छ । बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुरक्षित छन् ? कति पौष्टिक तत्व पुगेको छ रु त्यसलार्ई एकदमै ध्यान दिनुपर्ने हुन्छ ।’

सरोकारवालाहरूले पोषण बहुआयामिक क्षेत्रसँग जोडिएकाले पोषणमा सुधार ल्याउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने औंल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !