२२ बैशाख २०८१, शनिबार

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आजबाट अनलाइन टिकटको व्यवस्था

प्रकाशित मिति :  6 September, 2023 2:19 pm


काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुने गरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरिएको अस्पतालले जनाएको हो ।

अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउन्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउन्टर समेत थप गरेको छ । अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरूको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको बताए ।

उनले मुलुकको एक मात्र महिला स्वास्थ्य सम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शय्या सञ्चालन गरिएको बताए । निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९÷८० मा कुल ३४ हजार १ सय ८५ जना महिला बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार ९ सय ४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ रहेको उल्लेख गरे ।

उनले नवजात शिशु सघन उपचारतर्फ २ हजार १९२ र मातृ सघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको दाबी गरे । उहाँले गत आर्थिक वर्षमा अस्पतालले बहिरङ्ग सेवातर्फ १ लाख ८० हजार ८९० जना महिलाहरूले सेवा लिएको जानकारी दिए ।

उनले गत आर्थिक वर्षमा १ हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको बताए । स्त्रीरोग अस्पताल वि।स।२०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन ४० शय्या सुरुवात भएको थियो ।



प्रतिक्रिया दिनुहोस !