२० बैशाख २०८१, बिहिबार

कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लामा एनसेलको फोरजी, मनाङमा पनि छिटै विस्तार हुने

प्रकाशित मिति :  13 September, 2023 7:34 am


काठमाडौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा एनसेलले फोरजी सेवा विस्तारलाई तिब्रता दिएको छ । 

एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियान अन्तर्गत मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार गरेको हो।

फोरजी सेवा सुरु गर्न एनसेलले गएको एक महिनामा डोल्पाको ठुलीभेरी नगरपालिका, मुगुको छायाँनाथ रारा नगरपालिका, बाजुराको बडिमालिका नगरपालिका र हुम्लाको सिमिकोट गाउँपालिकामा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको छ । कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा संचालन गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले ग्राहकहरूलाई नयाँ प्रविधिसँग जोड्न पाएकोमा खुशी व्यक्त गरे । उनले भने, “यो एउटा कोशेढुङ्गा हो किनभने पछिल्लो विस्तार पश्चात कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौं । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पु¥याउनेछ ।”

एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको र छिट्टै नै मनाङ जिल्लालाई फोरजी पुर्याउने तयारी रहेको कम्पनीले जनाएको छ। 

फोरजीले प्रयोगकर्ताहरूलाई हाई–डेफिनिशन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोडहरू, ठूला फाइलहरू तत्काल आदानप्रदान लगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ ।

देशभरी एनसेलको ४ हजार एक सय भन्दा बढी फोरजी बीटीएसहरु संचालनमा रहेका छन् । गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो ।

एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै एक हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको जनाएको छ। एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको हो।

एनसेल आजियाटा लिमिटेडले नेपालमा सन् २००४ देखि उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !