४ जेष्ठ २०८१, शुक्रबार

असोज १२ र १३ गते ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हुने

प्रकाशित मिति :  24 September, 2023 6:09 pm


काठमाडौँ । नेपाल चिकित्सक संघको आयोजनामा काठमाडौँमा तेस्रो ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हुने भएको छ ।

संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर असोज १२ र १३ गते काठमाडौँमा ‘एनएमए नेश्नल हेल्थ समिट’ गर्न लागेको जानकारी दिएको हो ।

समिटको नारा ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती’ रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै संंघका महासचिव डा।सञ्जीव तिवारीले दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तनका बारेमा छलफल हुने बताए ।

त्यस्तै सम्मेलनमा स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा नीतिगत विचार विर्मस मार्फत सैद्धान्तिक बहस हुने पनि उनले बताए । उनले सम्मेलनमा ६ वटा सेसनहरू राखिएको जानकारी दिए ।

महासचिव तिवारीले सम्मेलनका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाएको बताए । उनले देशभरका स्वास्थ्यकर्मीहरू, चिकित्सकहरू, नीति निर्माण तहमा संलग्न अधिकारीहरू, स्वास्थ्यसँग सम्बन्धी सम्पूर्ण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्था लगायतलाई समिटमा उपस्थित हुन आग्रह गरे ।

समिटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रणनीतिक सुझाव पेश गर्न सुझाव दिने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !