१७ बैशाख २०८१, सोमबार

आजदेखि काठमाडौँमा चार दिने गैरआवासीय नेपाली विश्व सम्मेलन, यस्तो हुनेछ कार्यक्रम

प्रकाशित मिति :  17 October, 2023 9:15 am


काठमाडौँ । मंगलवारदेखि काठमाडौँमा चार दिने गैरआवासीय नेपाली विश्व सम्मेलन शुरु भएको छ। नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २० वर्ष पुरा गरेको हो।

आज (मंगलवार) बिहान ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन र कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहालबाट समापन गरिने पूर्व निर्धारित कार्यक्रम अनुसार सम्मेलन सुरु भएको हो।

आज मंगलवार र भोलि बुधवार (१७ र १८ तारिख) विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिता ऐन र मताधिकार सम्बन्धमा नेपाल सरकार र सरोकारवालासहितको विशेष सत्रको आयोजना हुदैछ।

बिहीवार (१९ अक्टोबर) मा संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यक्रम तय भएको छ । संघको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै शुक्रवार साँझ ५ बजे सम्मेलनको समापन हुने भएको छ।

महाधिवेशनमार्फत् संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ । संघको इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशन मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएका छन्।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब एक हजारभन्दा बढीको नेपालबाट सहभागिता रहनेछ तथा अनलाइनमार्फत पनि संसारभरबाट गैरआवासीय नेपाली सम्मेलनमा जोडिने भएका छन्।

स्थापनाको २० वर्षको अवधिमा ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई संगठनमा एकतावद्ध गरिएको छ ।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २० औँ वर्षगाँठ मनाइरहँदा विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको भन्दै खुसी व्यक्त गरिएको छ।

“गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै माग गर्दै आएको श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्नुपर्ने माग सरकारले सम्बोधन गरेको छ,” महाधिवेशनको पूर्वसन्ध्यामा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

संघकै पहलमा सरकारले वैदेशिक रोजगारीमा गएका र विदेशमा स्वरोजगारमा रहेकालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न थालिएको जनाइएको छ । यसबिच निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मताधिकारको अधिकार कार्यान्वयनको लागि ऐन निर्माण लगायतका सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको र धितोपत्रमा विदेशबाटै कारोबार गर्ने प्रक्रिया सुरु भएको प्रति एनआरएनएले खुसी व्यक्त गरेको हो।

विज्ञप्तिभा भनिएको छ, “छरिएर आउने पूँजी संगठित रुपमा भित्रन थालेको छ । लगानी भित्र्याउन देखा परेका कानूनी व्यवधान क्रमशः सम्बोधन हुने क्रम जारी छ । वैदेशिक लगानीका सम्भावनाहरु सीमित भएको र आन्तरिक स्रोत साधनको सिमितताबीच रहेको नेपालका लागि गैरआवासीय नेपाली समुदायको उपस्थिति आर्थिक खाडल पूर्तिका लागि नौलो अवसर बन्न सक्ने देखिएको छ ।”

यो पटक नेपाल सरकार, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा “नेपालीका लागि नेपाली” भन्ने मूल नारा र “ज्ञान र रुपान्तरण समृद्धिको आधार” विषयमा केन्द्रित गैरआवासीय नेपाली विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको हो।



प्रतिक्रिया दिनुहोस !