१६ बैशाख २०८१, आइतबार

संस्कृति र पर्वहरूका हामी वैभवशाली र गौरवशाली छौँ: प्रचण्ड

प्रकाशित मिति :  21 October, 2023 9:21 am


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली रहेको बताएका छन्।

बडादशैँको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सकिने बताएका हुन्।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, “विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ। यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो।”

मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा उनको जोड छ । 

जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोँचबाट माथि उठेर “गरे हुन्छ, परिवर्तन सम्भव छ” भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास गर्न उनले शुभकामना व्यक्त गरेका छन्। नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि अपेक्षा प्रधानमन्त्री दाहालको छ।



प्रतिक्रिया दिनुहोस !