१६ बैशाख २०८१, आइतबार

लयमा फर्कियो पुष्प क्षेत्र, वार्षिक तीन अर्ब रूपैयाँकाे कारोबार

प्रकाशित मिति :  28 October, 2023 4:24 pm


काठमाडौँ । कोरोना कालमा मारमा परेको पुष्प क्षेत्र पुनः लयमा फर्किएको छ । यस क्षेत्रमा कोरोना अगाडिको अवस्था बराबरकै कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङले गत आर्थिक वर्ष ०७९/८० मा फ्लोरिकल्चरको क्षेत्रले ३ अर्ब ७ करोड रूपैयाँको कारोबार गरेको बताए ।

“कोराना कालमा कृषि क्षेत्रमा सबैभन्दा धेरै मारमा पुष्प क्षेत्र परेको थियो,” तामाङले भने, “गत वर्षबाट भने हामी लयमा फर्किएका छौं, कोरोना अगाडिको सामान्य अवस्था अनुरुपको कारोबार भएको छ।”

उनले कोरोनाका कारण ठूला पुष्प उद्यमी धरासयी बनेको बताए । त्यसयता पुनः उठ्ने प्रयास गर्दै पुष्प क्षेत्रले सामान्य अवस्था अनुसारकै कारोबार गर्न थालेको एसोसिएसनको भनाइ छ । हरेक वर्ष १० देखि १५ प्रतिशतका दर फुल तथा पुष्पजन्य उत्पादनको माग बढ्ने गरेको एसोसिएसनको तथ्यांक छ ।

कोरोना कालअघिको यही दरले नै गत वर्षदेखि माग र आपूर्ति बढ्न थालेकाले पुष्प क्षेत्रले आश जगाएको तामाङको भनाइ छ। मागको ९० प्रतिशत आपूर्ति स्वदेशमै उत्पादिन पुष्प तथा पुष्पजन्य उत्पादले धारिहेको एसोसिएसनको भनाइ छ।

उत्पादन वृद्धिदर अझै बढ्ने क्रममै रहेकाले बजारको माग धान्न यो वर्ष अघिल्लो वर्षभन्दा आयातमा वृद्धि भएको तामाङको भनाइ छ । “कोरोनापश्चात झनै उत्पादनमा लाग्न प्रेरित हुने अवस्था नदेखिएपछि आयातमा थोरै वृद्धि हुने अवस्था आएको हो,” टक्सारसँगको कुराकानीमा उनले भने।

गत वर्ष करिव ३६ करोडको पुष्पजन्य उपज आयात भएको र निर्यात करिव ६७ लाख मात्र रहेको तामाङले जानकारी गराए। मागको बाँकी हिस्सा भने स्वदेशी उत्पादनकै रहेको जानकारी दिँदै उनले सरकारले लगानीको वातावरण मात्र बनाइदिए यस क्षेत्रमा आयात प्रतिस्थापन छिटै नै गर्न सकिने बताए।

खुला सीमा, स्वदेशमा लगानी गर्ने वातावरण नबन्नु, भन्सार बाटै पनि प्रक्रिया पुरा नगरेर पनि आयात हुनु जस्ता चुनौति पुष्प क्षेत्रले भोगिरहेको जानकारी दिँदै अध्यक्ष तामाङले सरकारसँग आवश्यक पहल गरिरहेको बताए।

एसासिएसनले हरेक वर्ष तिहार अगाडि ललितपुरको जावलाखेलमा गोदावरी फूलको मेलासहित कम्तिमा वर्षमा दुई पटक राष्ट्रिय स्तरको मेला र प्रदेश स्तरमा पनि पुष्प प्रवद्र्धन मेला गर्दै आएको छ ।

यो वर्षको मेला आउदो कात्तिक १४ देखि जावलाखेलस्थित खेल मैदानमा सुरु हुने भएको छ।



प्रतिक्रिया दिनुहोस !