७ जेष्ठ २०८१, सोमबार

गाउँपालिका उपाध्यक्षद्धारा प्रमुख प्रशासकीय अधिकृत विरुद्ध दुव्र्यवहारको उजुरी

प्रकाशित मिति :  29 April, 2020 8:47 am


फाईल फोटो

 

जुम्ला, १७ वैशाख ।

जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजूरी दिएकी छन् ।

वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुव्र्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी दर्ता गरेकी हुन् ।

स्थानीय न्यायिक समिति संयोजक रोकायाले दुव्र्यवहार सहन नसकेर उजूरी दर्ता गराएको जानकारी दिईन् ।

‘मेरो नैतिकतामाथि नै प्रश्न उठ्ने गरी कार्यपालिकाको बैठकमा अपशब्द बोल्ने र ज्यान मार्ने योजना बनाएकाले कानूनी बाटो रोजेको हुँ’,उनले भनिन्। उनले पत्रकार सम्मेलनमार्फत दुव्र्यवहार गरिएको घटनाको अडियोसमेत सार्वजनिक गरेकी छन् ।

कार्यपालिकाको बैठकमा उपाध्यक्षमाथि अपशब्द बोल्नुका साथै दुव्र्यवहार गरेको आरोपसहितको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

‘उपाध्यक्षले बैठकमा छलफल भइरहेको समयमा दुव्र्यवहार गरेको भनी दर्ता जाहेरीबारे अनुसन्धान अगाडि बढाएका छौँ’, प्रनाउ धामीले भने । अधिकृत बुढासहित स्थानीय अमरजङ्ग शाहीविरुद्ध पनि उजूरी परेको प्रहरीले जनाएको छ ।

तर बुढाले भने आफूले हातपात नगरेको बताएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘मबाट बहिनी सम्मान एक सम्मानित उपाध्यक्ष माथि सामान्य दुव्र्यवहार त के कुरा हातपातको कल्पना समेत गर्न सक्दैन ।’

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले उपाध्यक्ष रोकाया र प्रशासकीय अधिकृत बुढाबीच भनाभन भएको बताएका छन् ।

यसअघि सो गाउँपालिकाले सबै नागरिकलाई २५ केजी नुनसहित ३० केजीका दरले सबै घरधुरीलाई चामल वितरण गरेको र त्यसमाथि उठेको गुनासोका बारेमा १२ गते बसेको कार्यपालिकाको बैठकमा विवाद भएको थियो ।



प्रतिक्रिया दिनुहोस !