५ जेष्ठ २०८१, शनिबार

देशभर दैनिक १२ सय र काठमाडौँमा उपत्यकामा दैनिक ३५० युनिट रगत माग

प्रकाशित मिति :  24 November, 2023 1:59 pm


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ।

नेपालमा रहेका रक्तसञ्चार सेवा केन्द्र र युवा पुस्तामा रगत दान गर्नुपर्ने सन्देश फैल्याउने अभियान सञ्चलन गर्नुपर्ने आवश्यकता रहेको बताएको हो।

नेपालमा आवश्यक रगत व्यवस्थापनका लागि रगत दान गर्ने कुरालाई हरेक व्यक्ति र समाजमा अभियानका रुपमा लैजान सके यसले आवश्यक समयमा रगतको कमी नहुने नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक महामन्त्री मनोजकुमार थापाले बताए।

उनले रक्तदाताहरुलाई रगत दान गर्नुपर्छ भन्ने चेतना फैल्याउन आवश्यक रहेको बताए। बजारमा अहिले रगतको अभाव भएको भ्रम फैल्याइएको उल्लेख गरे। उनले कुनै एउटा समूहको रगत कमी भएको बेलामा रगत नै अभाव भयो भन्ने भ्रम फैल्याउने काम भएको बताए।

रक्तसञ्चार व्यवस्थापन समिति संयोजकसमेत रहेका उनले चाडपर्वहरुमा रगत संकलनमा कमी आउने भए पनि अन्य समयमा खासै कमी नभएको जानकारी दिए। नेपालमा बसोवास गरिरहेका मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने रगत अभाव नहुने जिकिर गरे। रगत पाइँदैन भन्नेकुराको अन्त्य गर्न सोसाइटीले विशेष कार्यक्रम अघि बढाउन लागेको उनको भनाइ छ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलले देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग हुने गरेको बताए। उनले वार्षिक रुपमा रगतको माग गर्नेको संख्या साढे ४ लाख रहेको बताए।

काठमाडौं उपत्यकामा दैनिक ३५० युनिटको माग हुँदै आएको र वार्षिक रुपमा काठमाडौँमा १ लाख ३० हजार टनको आवश्यकता रहेको उनले जानकारी गराए। उनका अनुसार चाहिने रगत ८५ प्रतिशत क्याम्पहरुबाट आपूर्ति गर्ने गरेको र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरुमा नै आएर दान गर्नुपर्ने अवस्था रहेको छ।



प्रतिक्रिया दिनुहोस !