१२ श्रावण २०८१, शनिबार

स्वास्थ्यमन्त्री बस्नेतको आरोपः वरिष्ठ चिकित्सक केसी मेडिकल गिरोहद्वारा सञ्चालित छन्

प्रकाशित मिति :  25 November, 2023 2:22 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा।गोविन्द केसी मेडिकल माफियाहरूद्वारा सञ्चालित भएको आरोप लगाएका छन् ।

वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरूकाे फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सचेत गराए ।

उनले भने, “नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो । हामी हिँडिराखेका छौं । म यो पनि भन्छु–म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ ।”

उनले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए । “यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ । अब हामीले यो काम गर्नुहुँदैन । तपाई आफू ठिक मान्छे हो । तर तपाईलाई सञ्चालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने ? मन्त्री बस्नेतले भने, “अब भन्नुपर्छ तपाईंहरुले । होइन यो अभियान अगाडि बढ्दा तपाईहरू ओल्टेकोल्टे हुन थाल्यो भने तपाईहरुलाई पनि कारबाही हुन्छ ।”

नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वरिष्ठ चिकित्सक केसी र मेडिकल माफियाहरूले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिएको मन्त्री बस्नेतको जिकिर थियो ।

मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरूमा नर्स र पारामेडिक्स पढाउने र त्योभन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने प्रस्ताव गरेको बताए ।

“अहिलेको हिसावले हो भने ५ वर्ष पछि यो देशमा डाक्टर र नर्स पाइँदैन । र, मेरो प्रस्तावलाई कार्यान्वयन गर्न धेरै गाह्रो पनि छैन । यो प्रस्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरु संसारभर हामी पठाउन सक्छौं । अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाइरहेका छौं । सारा बर्बाद गरेका छौं” उनले भने, ‘‘यसैकारण ठगिएका छन हाम्राहरु । आम्दानी राम्रो हुँदैन । तर हामीले योग्य, दक्ष मानिसहरु जाँदाखेरी त्यसको सम्मान अर्कै हुन्छ । राष्ट्रलाई रेमिटयान्स बढाउने कुरा त्यही ढंगले हुन्छ । तर हामीले धेरै उत्पादन गर्नसक्यौं भने हामीले यो देशलाई मडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहीँ भोकमरीमा पर्नेछौं मेडिकल शिक्षामा । यो किन नगर्ने ?”

राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव देश र जनताको हितका लागि अति आवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पटकपटक आग्रह गरे ।

“मैले क्याबिनेटमा यो कुरा लगेँ । कार्यक्रम एकदमै राम्रो भन्नुभयो प्रधानमन्त्रीज्युसहित सबै मन्त्रीज्युहरूले । लागू कसरी गर्ने त्यो चाहीँ हेर्नुपर्छ भन्नुभयो । कानुन त हामीले बनाउने हो नि । यदि यो प्रस्ताव ठिक छ भने कानुन त्यो अनुसार बनाउन किन कन्ज्युस्याँई गर्ने रु त्यहाँ पनि फेरि गिरोहहरुको खेल हुन्छ” उनले भने, “कुरा क्लियर छ । मेडिकल शिक्षा नेपालमा फटाफट पढ्न र पढाउन पाउने व्यवस्था भयो भने यसको असर कहाँ कहाँ पर्छ रु त्यहाँबाट खेल्न थाल्छन् । यो खेल्न खोज्ने कुराको बिरुद्धमा तपाईहरूको पनि साथ मलाई चाहिन्छ ।”

मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान जनशक्ति अपुग भएकाले त्यसको व्यवस्थापनको कामलाई पनि अघि बढाएको बताए ।



प्रतिक्रिया दिनुहोस !