१२ श्रावण २०८१, शनिबार

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छः मन्त्री शर्मा

प्रकाशित मिति :  25 November, 2023 2:34 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने बताएकी छन् ।

आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजा गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उनले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिनुपर्ने बताएकी हुन् ।

पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्व र इतिहास छ, यसको तुलनामा आज हामीले यसलाई कति विकास गर्न सक्यौं भन्ने मूल प्रश्नमा बहस हुन आवश्यक रहेको पनि उनले बताइन् ।

मन्त्री शर्माले भनिन्, “हामीले प्राकृतिकरूपमा हिमाल, पहाड र तराइमा पाइने सबै प्रकारको हावापानी पाएका छौं । जटीबुटीका हिसाबले धनि छौं । हाम्रो सभ्यता र संस्कृतिका हिसाबले पनि नेपालमा मानव सभ्यताको विकास भएपछिको अधिकांश समय हाम्रा पूर्खाहरूले यही जटीबुटीकै भरमा रोगब्याधिसँग लडेर स्वस्थ जीवन बाँच्न सके । यस्तो अनुकूल धरातलका बिचमा रहेर पनि हामीले आयुर्वेद स्वास्थ्यको क्षेत्रमा किन विकास गर्न सकेनौं ? हाम्रा बहुमूल्य जडीबुटी बिदेशीहरूलाई कौडीको मोलमा बेचेर त्यसबाट उत्पादित औषधि वा अन्य वस्तु महंगोमा किनेर प्रयोग गर्नुपर्ने अवस्था किन आयो? यसको गहिरो समीक्षा हुन जरुरी छ ।”

पूर्वीय सभ्यताको अंग र पुस्ताको नासोको रूपमा रहेको आयुर्वेदको यो गौरवपूर्ण विरासतलाई अब आधुनिक प्रविधिसँग जोडेर लैजानुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, “हामीले केही प्रयास त पक्कै गरेका छौं तर पर्याप्त छैन । आयुर्वेदको संस्थागत सेवा र औषधि उत्पादनमा नेपालको जुन गौरवशाली इतिहास छ, यसलाई अब विविधिसँग जोडेर विश्वब्यापीरूपमा यसको पहुँच विस्तार गर्नुपर्छ ।”

आयुर्वेदको विकासका लागि ब्यापक अनुसन्धानमा जोड दिने र यसलाई नेपाली समाजको जीवनशैली बनाउनतिर ध्यान दिनैपर्ने मन्त्री शर्माको जोड छ । नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा स्थापित गरेको र राष्ट्रिय नीतिमा आयुर्वेदलाई महत्व दिइएको उल्लेख गर्दै उनले नीति र कानुनको अभाव नभए पनि यसको कार्यान्वयन पक्ष भने कमजोरी नै रहेको सबैले स्वीकार गर्नुपर्ने बताइन् ।

सरकारले चालु आर्थिक वर्षमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति अघि सारेको जानकारी दिंदै नागरिकलाई शारीरिक ब्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा सन्तुलित आहारमा जोड दिई स्वछ जीवनशैली अपनाउन अभिप्रेरित गर्ने र खुला योग तथा ब्यायामशाला निर्माण, जडीबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्ने पनि सरकारको नीति रहेको स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस !