१२ श्रावण २०८१, शनिबार

स्याङ्जाको भीरकोटमा तीन दिने आँखा शिविर सुरू, पहिला दिनमा १६२ जना बालबालिका लाभान्वित

प्रकाशित मिति :  3 December, 2023 2:39 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा विद्यार्थीहरूका लागि आँखा शिविर सुरू भएको छ। लायन्स क्लब अफ भीरकोटले “विद्यार्थीसँग लायन्स कार्यक्रम” अन्तर्गत यही मंसिर १६ गतेदेखि १८ गतेसम्म संचालन गर्ने तीन दिने निशुल्क आँखा शिविरको पहिलो दिन १६२ बालबालिका लाभान्वित भएका छन्।

भीरकोट नगरपालिका वडा नम्बर १ मा अवस्थित भीरकोट खेलमैदानमा निशुल्क आँखा शिविर आयोजना गरिएको छ।
आँखा शिविरको समुद्घाटन गर्दै नगर प्रमुख कर्माचार्यले लायन्स क्लब अफ भीरकोटले सामाजिक कार्यहरूमा अग्रसरता लिएकोमा खुशी लागेको बताए।

समाज सेवाको भावनाले लायन्सले गर्ने जुनसुकै काममा नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख कर्माचार्यले बालबालिकाको हितमा काम गरेकोमा लायन्स क्लबप्रती आभार व्यक्त गरेका थिए।

लायन्स क्लब अफ भीरकोटका अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) लायन्स क्लब समाज सेवाको भावनाले नै स्थापित भएकाले सामाजिक सेवाका कार्यहरूलाई निरन्तरता दिने बताए।भीरकोटको बालमैत्री अभियानमा सहयोग पुगोस भन्ने हेतुले निशुल्क आँखा जाँच शिविर आयोजना गरिएको बताउँदै अध्यक्ष अधिकारीले लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना अनुसार राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको समेत अवसर पारेर बालबालिका र विद्यार्थीहरूलाई लक्षित कार्यक्रम गरिएको बताए।

लायन्स क्लब अफ भीरकोटको आयोजना एवम् भीरकोट नगरपालिका र गण्डकी मेडिकल कलेज पोखराको समेत सहयोगमा सुरू भएको निशुल्क आँखा शिविरमा विशेषत विद्यार्थीहरूको आँखाको दृष्टि परीक्षण र निशुल्क औषधि वितरण गरिएको छ ।

आँखाको थप उपचार आवश्यक परेमा गण्डकी मेडिकल कलेजले विशेष सहुलियत दिने बताइएको छ। शिविरमा तीन दिनसम्म आँखा रोग विशेषज्ञ डा.लक्ष्मी ओली, शुभेच्छा दाहाल र सुरमाया अधिकारीले सेवा दिनेछ्न्। आइतबार र सोमबार पनि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म आँखा जाँच र औषधि वितरण हुने आयोजकले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !