२२ बैशाख २०८१, शनिबार

सगरमाथा आरोहणमा ज्यान गुमाउने शेर्पाका परिवारलाई हरि बुढामगर फाउन्डेसनको सहयोग

प्रकाशित मिति :  23 December, 2023 7:42 pm


काठमाडौँ । सगरमाथा कृतिमानी आरोही हरि बुढामगरले स्थापना गरेको ‘हरिबहादुर बुढामगर फाउण्डेसन’ले  सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई हरेक वर्ष सहयोग गर्ने घोषणा गरेको छ । 

फाउण्डेसनले सहयोग स्वरुप यस वर्ष सगरमाथा आरोहणका क्रममा सहयोगि बनेर जाँदा ज्यान गुमाएका  ६ जनाको परिवारलाई सहयोग गरेको छ ।

ललितपुरको रिडी लाउन्जमा एक कार्यक्रमकाबिच फाउण्डेसनले शनिबार मृतकका परिवारका सदस्यलाई जनही १/१ लाख रुपैयाँ सहयोग गरेको हो ।

फाउण्डेसनका संस्थापक एवं अध्यक्ष बुढामगरले मृतकका परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन् । बुढामगर आफै कृतिमानी सगरमाथा आरोही हुन् । 

बुढामगरले २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए । उनले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्।

सहयोग हस्तान्तरण गर्दै बुढामगरले भने, “कुनै पनि व्यक्तिका लागि सगरमाथाको शिखर चुम्नुहरूको साथमा जानेहरू खासगरी शेर्पाहरूको ठुलो भूमिका हुन्छ  । सगरमाथाको सफल आरोहण गरेपछि हामीले उनीहरूलाई बिर्सन्छौँ तर म यो गर्न चाहन्न । हामीले आफ्नो धरातल बिर्सन हुँदैन ।” 

बुढामगरले सगरमाथा आरोहण गर्नेहरूको सहयोगि बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई हरेक वर्ष सहयोग उपलब्ध गराउने बताए ।

उनले भने, “मेरो विश्वास छ सगरमाथा आरोहणमा सहयोगि बनेर जाने सबै दाजुभाई सफल भएर पर्खनुहुने छ, तर कुनै दुखद दुर्घटना भएको अवस्थामा उहाँहरूको परिवारलाई फाउण्डेसनले सहयोग गर्नेछ ।” 

अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकरसमेत रहेका बुढामगरले समरमाथा आरोहणपश्चात सम्मान पाइरहेका छन्। फाउन्डेसनको कार्यक्रमका लागि नेपाल आएका बुढामगर आइतबार नै बेलायत फर्कदैछन्।

बुढामगरले आफू कुनै चर्चाको लागि भन्दा पनि अपाङ्ग सचेतनाका लागि सगरमाथा आरोहण गरेको बताए । आफ्नो आरोहण र फाउन्डेसनलाइ सहयोग गर्ने संस्था तथा व्यक्तिलाइ उनले धन्यबाद व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !